भुटानले साफ महिला यू–२० च्याम्पियनसिपको उपसंहार जितका साथ गर्दै तेस्रो स्थानमा प्रतियोगिता समाप्त गरेको छ ।
आइतबार ढाकास्थित बसुन्धरा किङ्स एरेनामा भएको अन्तिम खेलमा भुटानले श्रीलंकालाई ५–० ले हरायो । यससँगै उसले ६ खेलमा २ जितसहित ६ अंक बटुल्यो ।

भुटानले प्रतियोगितामा दुवै जित श्रीलंकाविरुद्ध नै निकालेको हो । पहिलो भेटमा पनि उसले श्रीलंकालाई ५–० ले नै हराएको थियो ।
अन्य चार खेलमा भने भुटान हार बेहोर्न बाध्य भयो । उसले नेपालसँग ६–१ र ८–० तथा बंगलादेशसँग ४–१ र ३–० को हार सहेको थियो ।
जितविहीन श्रीलंका अंकविहीन रहँदै पुछारमा सीमित रह्यो । जारी प्रतियोगितामा लिग चरणको अन्तिम खेलमा नेपालले आज आयोजक बंगलादेशसँग खेल्ने तालिका छ ।
खेल बेलुका ७ बजेदेखि सुरु हुनेछ । आजको खेल जित्ने टिमले उपाधि जित्ने समीकरण बनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।