नेपालको फुटबलमा अहिले एउटा गम्भीर प्रश्न उठिरहेको छ- के नेपाली टिम योग्य र सक्षम प्रशिक्षक टिकाउनसक्ने अवस्थामा पनि छैन ? पछिल्ला तीन वर्षको अनुभवले यो प्रश्न अब केवल आशंका होइन, यथार्थ भोगाइमा बदलिएको छ ।
फुटबलको विकासमा उल्लेखनीय योगदान दिन सक्ने दुईजना प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र प्याट्रिक डे वाइल्ड नेपाली फुटबलको सम्भावना बोकेर आएका थिए ।

उनीहरूले टिमलाई नयाँ उचाइमा पुर्याउने संकेतसमेत दिएका थिए । तर, दुवै प्रशिक्षक एन्फासँगको विवाद, व्यवस्थापकीय कमजोरी र असहयोगपूर्ण वातावरणले कामको सुरुवातमै निराश भएर बिदा भए ।
यो घटनाक्रमले देखाएको छ कि प्रशिक्षकको योग्यता वा नतिजाभन्दा पनि व्यवस्थाको अकर्मण्यता र अस्थिरता नै नेपाली फुटबलको सबभन्दा ठूलो अवरोध बनेको छ ।
सन् २०२१ मा कुवेती प्रशिक्षक अल्मुताइरीले टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी लिँदा नेपाली फुटबल थलिएको अवस्थामा थियो । तर, उनको आगमनले वातावरण नै बदलियो ।
टिम अनुशासित, आक्रामक र उद्देश्यप्रति समर्पित देखिन थाल्यो । सोही कारण २०७८ मा नेपाली टिम साफ पहिलोपटक च्याम्पियनसिपको फाइनल पुग्न सफल भयो, यो नेपालको फुटबल इतिहासकै सबभन्दा ठूलो ‘माइलस्टोन’ मध्ये एक थियो ।
अल्मुताइरीले ‘नेपाली फुटबलको भविष्य उज्यालो छ’ भन्ने आशा जगाए । दर्शकमा उत्साह, खेलाडीमा आत्मविश्वास र मैदानमा ऊर्जा देखा पर्यो । तर, त्यो यात्रा लामो भएन । २०७९ को असोजमा उनले राजीनामा दिए, एन्फाले रोक्ने प्रयास पनि गरेन ।

पुरुष टिममा निराशा बढिरहेका बेला महिला टोलीले लगातार राम्रो प्रदर्शन गरिरहेको छ । र, महिला टिमलाई थप माथि उठाउन एन्फाले गत जेठमा पहिलोपटक प्रो लाइसेन्स प्रशिक्षक भित्र्यायो । र, हेडकोचमा नियुक्त भए, बेल्जियमका प्याट्रिक डे वाइल्ड । उनको नेतृत्वमा नेपालले उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गर्यो ।
फिफा वरियतामा निकै माथि रहेको उज्बेकिस्तानसँग नेपालले ३–३ को बराबरी खेलेर अन्तर्राष्ट्रियस्तरमा चर्चा बटुल्यो । यो एउटा ‘स्टेटमेन्ट गेम’ थियो, जसले देखायो योग्य नेतृत्वमा नेपाली महिला टिम सक्षम छ । यहीबीचमा डे वाइल्ड एन्फाको अनियमित व्यवस्थापनसँग दिक्क भएर उज्बेकिस्तानबाटै घर फर्किए । र, उनले त्यहीँबाट राजीनामा दिए ।
यी दुई घटनाले नेपाली फुटबलको यथार्थलाई नाङ्गै बनाइदिएको छ, हामी सधैं जित चाहन्छौं, गर्व गर्नलायक प्रदर्शन चाहन्छौं । तर, त्यो चाहनालाई सार्थक बनाउने आधार तयार गर्ने काममा भने सम्बन्धित निकायको प्रतिबद्धता सतही देखिन्छ ।

साथै यथेष्ट तलब, दीर्घकालीन योजना र निर्णयको स्वतन्त्रताबिना कुनै पनि प्रशिक्षकबाट चमत्कारी परिणामको अपेक्षा गर्नु आफैंमा अव्यावहारिक र अन्यायपूर्ण हो । आज खेलाडी विदेश पलायन भइरहेका छन्, किनभने त्यहाँ करिअर छ ।
यस्तै, प्रशिक्षक आउँछन् । तर, नेपालमा दीर्घकालीन वातावरण नभएपछि टिक्दैनन् । यस्तै, संस्थागत ढाँचा कमजोर हुँदा खेलाडीको उत्पादन थलिएको छ । स्थानीय लिग खस्किएको छ । र, राष्ट्रिय टोली निरन्तर पुनर्संरचनामा अल्झिएको छ ।
यस्तो अवस्थामा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता केवल प्रतिनिधित्वमा सीमित हुन पुग्छ, नतिजा, सफलता र प्रगति त परकै कुरा भयो । यदि समयमै फुटबल संघमा पारदर्शिता ल्याउन, दीर्घकालीन योजना बनाउन र राजनीति बाहिर राख्न सकिएन भने नेपाली फुटबल अघि बढेको देख्न अझै धेरै वर्ष कुर्नुपर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।