१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

फुटबलमा उपाधिबाट टाढिँदै नेपाली टिम, तयारी र व्यवस्थापनमा समस्या
संरचना र सोचमा संकट

साफ महिला यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपाधि जित्ने नेपालको सपना यसपालि पनि अधुरो रह्यो । सोमबार राति सम्पन्न निर्णायक खेलमा आयोजक बंगलादेशसँग ४–० ले पराजित भएपछि नेपालले तेस्रोपटकको उपाधि भिडन्तमा सफलता हासिल गर्न नसकेको हो ।


सन् २०१८ र २०२३ मा फाइनल पुगे पनि उपाधि हात पार्न नसकेको नेपालको निराशाजनक प्रदर्शनले नेपाली फुटबलमा रहेको प्रणालीगत कमजोरीलाई थप उजागर गरेको छ ।



बंगलादेशविरुद्ध पटक–पटक फाइनल हार्नु खेलाडीको मात्र कमजोरी होइन, यो नतिजा हात पर्नुमा दीर्घकालीन योजना, संरचना अभाव र पर्याप्त लगानीको परिणाम पनि हो । 



उता बंगलादेशले भने पछिल्ला वर्षहरूमा फुटबलमा उल्लेखनीय प्रगति गरिरहेको छ । यसपालिको साफमा बंगलादेशी खेलाडीले अनुभवी विदेशी प्रशिक्षकको नेतृत्वमा आक्रामक, सुव्यवस्थित र योजनाबद्ध खेल प्रदर्शन गरे, जसले नेपालको कमजोर रणनीति र अपर्याप्त तयारीलाई स्पष्टसँग देखायो । यसले प्रष्ट पार्छ केवल प्रतिभा र इच्छाशक्तिले मात्र सफलताको ढोका खोल्दैन, व्यावसायिक प्रशिक्षण, दीर्घकालीन योजना र चुस्त व्यवस्थापन नभएसम्म उच्चस्तरको सफलता सम्भव छैन ।

अब के गर्ने ?

नेपालले उपाधि खडेरी तोड्न चाहन्छ भने आगामी दिनमा रणनीति, लगानी र व्यवस्थापनका सबै पक्षमा गम्भीर सुधार गर्नैपर्छ । सबैभन्दा आवश्यक भनेको फुटबलमा दीर्घकालीन र पर्याप्त लगानी नै हो ।

प्रतियोगिताको बेलामा मात्र होइन, ग्रासरुटदेखि नै फुटबल विकासका कार्यक्रम निरन्तर चलाउनुपर्छ । नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले जिल्लास्तरका प्रतियोगिता, प्रशिक्षण शिविर र व्यवस्थित संरचनामा विशेष ध्यान दिन अब ढिलाइ गर्नु हुँदैन ।



प्रशिक्षकको गुणस्तर र क्षमतालाई पनि प्राथमिकता दिनुपर्ने अत्यावश्यक भइसकेको छ । विदेशी प्रशिक्षक ल्याउन सकिए राम्रो, नत्र स्थानीय प्रशिक्षकलाई गुणस्तरीय तालिम दिनुपर्छ ताकि दीर्घकालीनरूपमा फुटबलको विकासमा योगदान दिन सकून् ।

निर्णायक खेलमा दबाब व्यवस्थापनमा कमजोरी नेपालको पुरानो समस्या हो । र, सोमबारको खेलले त्यसलाई पुनः प्रमाणित गर्‍यो । खेलाडीलाई शारीरिकका साथै मनोवैज्ञानिकरूपमा पनि तयार पार्नुपर्ने आवश्यक छ । दबाबमा आत्मविश्वास र मानसिक दृढता बढाउन वैज्ञानिक प्रशिक्षण अनिवार्य छ । 

एन्फाले उमेर समूहको फुटबललाई पनि प्राथमिकतामा राख्नु अब अनिवार्य भइसकेको छ । जबसम्म फुटबलको आधारभूत जग मजबूत हुँदैन, तबसम्म माथिल्लो तहको फुटबलले दिगो सफलता पाउन सक्दैन । तर, दुर्भाग्य एन्फाले यसमा आवश्यक ध्यान र लगानी पुर्‍याउन अझै कन्जुसाइ गरिरहेको छ ।

आर्थिक स्रोत र पूर्वाधारमा स्पष्टरूपमा असमानता देखिन्छ, जसले युवा खेलाडीको विकासलाई बाधा पुर्‍याइरहेको छ । छोटो समयको प्रदर्शन र व्यक्तिगत प्रतिभामा मात्र भर पर्दा दिगो सफलता आउँदैन । फुटबल संरचना बलियो बनाउन हरेक तहमा योजनाबद्ध र निरन्तर लगानी हुनुपर्छ ।

 यदि एन्फाले यी कमजोरीलाई गम्भीरतापूर्वक लिएर आवश्यक सुधार र पर्याप्त लगानी गर्‍यो भने मात्र नेपालले साफ यू–२० मा सीमित नभइ महिला फुटबलका अन्य ठूला प्रतिस्पर्धामा समेत सफलता हासिल गर्न सक्ने छ । 

ताजा हारले खेलको गहिराइ देखाएको मात्र छैन, बलियो व्यवस्थापन र सही दिशामा काम नगर्दा नेपाली फुटबलको भविष्य कति अनिश्चित छ भन्ने कुरा पनि स्पष्ट पारेको छ ।

त्यसकारण अब ‘सिक्ने’ चरणलाई लामो समयसम्म बहाना बनाएर बस्न मिल्दैन । अबको चरण हो, नतिजा र सुधार देखाउने । 

  • प्रकाशित मिति : ६ साउन, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया