पाकिस्तानविरुद्धको टी–२० आई सिरिज बंगलादेशले एक खेलअगावै जितेको छ । मंगलबार दोस्रो टी–२० आईमा पाकिस्तानलाई ८ रनले हराउँदै बंगलादेशले सिरिज एक खेलअगावै जितेको हो ।
पाकिस्तानले भने लगातार खराब ब्याटिङ गर्दै एक खेलअगावै सिरिज गुमायो । दोस्रो खेलमा बंगलादेशले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित १९.२ ओभरमा १२५ रनमै अलआउट भयो ।
उसका लागि अलराउन्डर फहीम अस्रफले अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन भने सकेनन् । उनले ३२ बलमा चार चौका र चार छक्कासहित ५१ रनको पारी खेले । यस्तै, अब्बास अफ्रिदीले १९, खुसदील साहले १३ तथा अहमद दनयालले १७ रन जोडे ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बंगलादेशका लागि शोरिफुल इस्लामले तीन, मेहदी हसन र तन्जिम हसन सकिबले दुई/दुई विकेट लिए ।
त्यसअघि मिरपुरस्थित शेरे बंगला नेशनल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको बंगलादेश निर्धारित २० ओभरमा १ सय ३३ रनमा अलआउट भयो । उसका लागि जकर अलीले अर्धशतकीय पारी खेले ।
उनले ४८ बलमा पाँच छक्का र एक चौकासहित ५५ रनको पारी खेलेका हुन् । यस्तै, मेहदी हसनले ३३ र परवेज हुसेन इमनले १३ रन जोडे । पाकिस्तानका लागि अब्बास अफ्रिदी, अहमद दनयाल र सलमान मिर्जाले दुई/दुई तथा मोहम्मद नवाज र फहीम अस्रफले एक/एक विकेट लिए ।
यो जितपछि तीन खेलको सिरिजमा बंगलादेशले २–० को अग्रता लिएको छ । पहिलो खेलमा बंगलादेशले पाहुना टिम पाकिस्तानलाई ७ विकेटले हराएको थियो । अब यी दुई टिमबीचको तेस्रो टी–२० आई बिहीबार हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।