थाइल्याण्डले बिहीबार बिहानैदेखि कम्बोडियासँगको सम्पूर्ण सीमा बन्द गरिदिएको छ । सीमा क्षेत्रमा कम्बोडियाली सेनाले ‘नागरिक लक्षित रकेट आक्रमण’ का कारण तनाव बढेको थाई पक्षको दाबी छ । सुरुको उक्त आक्रमणमा परि थाइल्याण्ड पक्षका कम्तीमा तीन जना घाइते भए ।
जवाफमा थाइल्याण्डको सुरक्षा मन्त्रालयले राष्ट्रिय प्रसारण सेवामार्फत सेनालाई पूर्ण परिचालन अधिकार दिएको चर्चा छ। सीमा नजिकैको सुरिन प्रान्तको ता मुयन थोम मन्दिर क्षेत्रमा झडप सुरु भएको हो ।
उता, कम्बोडियाले थाइल्याण्डका सेनालाई आफ्ना मन्दिरहरू र सैन्य स्थानमा भारी हवाई र जमिन आक्रमण गरेको आरोप लगाएको छ। दुवै पक्षले एकअर्काविरुद्ध आक्रमण गरेका छन् ।

यी दुई देशबीच सीमा विवाद पुरानै हो । तर, पछिल्लो पटक यो झडपले उग्र रूप लिएको हो । दक्षिण पूर्वी एसियाली मुलुक थाइल्यान्ड–कम्बोडियाबीच लामो समयदेखि सीमा क्षेत्रमा विवाद रहँदै आए पनि सन् २०११ पछि ठूलो तनाव मात्रै सिर्जना भएन हवाई आक्रमणसम्मको अवस्था आएको छ ।
दुई दिनको अवधिमा अहिले नाका आसपासका कम्तीमा १२ ठाउँमा झडप भएको छ । थाइल्याण्डमा १५ जनाभन्दा बढी जनाको मृत्यु भएको र मृतकमा अधिकांश नागरिक रहेको सञ्चारमाध्यमले जनाइरहेका छन् । त्यस्तै, एक कम्बोडियाली नागरिकको पनि मृत्यु भएको छ।
पछिल्लो घटनाले झण्डै १ लाख २० हजारभन्दा बढी थाई र २० हजार बढी कम्बोडियाली नागरिकहरू आफ्नो घरबाट विस्थापित बनेका छन् । थाइल्याण्डले आफ्नो सीमा क्षेत्रमा हेभी आर्टिलरी र बिएम–२१ रकेट प्रयोग गरेको जनाइएको छ ।
यस द्वन्द्वको मुख्य कारण प्रेह विहार मन्दिरसम्बन्धी पुरानो सीमा विवाद हो । सन् १९०७ को फ्रेन्च औपनिवेशिक नक्सालाई दुवै मुलुकले फरक–फरक रूपले व्याख्या गरेका छन् ।
यद्यपि सन् १९६२ मा अन्तर्राष्ट्रिय अदालतले मन्दिर कम्बोडियाको अन्तर्गत राखेको निर्णय सुनाएको थियो । तर, पनि सीमा विवाद अहिलेसम्म टुङ्गिएको छैन । कम्बोडियाले यो मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्ने बताइरहँदा थाइल्याण्डले यसलाई अस्वीकार गरिरहेको छ ।

थाइल्याण्डमा यस सङ्कटले राजनीतिक अस्थिरता पनि निम्त्याइसकेको छ । थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई कूटनीतिक विवादमा संवैधानिक अदालतले निलम्बन गरेको छ ।
गत महिना उनको आचरणबारे छानबिन गर्दै अदालतले निलम्बन गरेको हो । सिनावात्राको फोन अडियो सार्वजनिक भएपछि सरकारभित्रै तनाव बढेको हो । निलम्बन गर्नुअघि उनले कम्बोडियाका शक्तिशाली पूर्वप्रधानमन्त्री हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेको अडियो बाहिरिएको थियो । त्यसपछि उनको आलोचना बढेको हो ।
थाई सेनाले कम्बोडियामा हवाई आक्रमण गरिरहँदा कम्बोडियाका प्रधानमन्त्री सेनले यसको जवाफ दिनुको विकल्प नभएको बताइरहेका छन् । यसले यो पटक यी दुई मुलुकमा तनावको अवस्था थप डरलाग्दो हुनसक्ने विश्लेषण भइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।