फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णय हमासको विरोधमा रहेको स्पष्ट पारेको छ ।
शुक्रबार फ्रान्सका विदेशमन्त्री जिन–नोएल बारोटले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै भनेका छन्, ‘हमासले सधैं दुई राज्य समाधानको विरोध गर्दै आएको छ । प्यालेस्टिनी राज्यको मान्यतामार्फत फ्रान्स त्यस आतङ्कवादी संगठनको स्पष्ट विपक्षमा उभिएको हो ।’
बारोटको यो टिप्पणी राष्ट्रपति इमानुएल म्याक्रोनले सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघीय महासभामा फ्रान्सले औपचारिकरूपमा प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेको भोलिपल्ट आएको हो ।
यद्यपि हमासले म्याक्रोनको घोषणालाई स्वागत गर्दै यसलाई ‘उत्पीडित प्यालेस्टिनी जनतालाई न्याय दिने सकारात्मक पहल’ भनेको छ ।
इजरायलले भने यो निर्णयले ‘आतङ्कवादलाई पुरस्कृत’ गरेको प्रतिक्रिया दिएको छ । अमेरिकाले पनि फ्रान्सको निर्णयलाई ‘लापरवाह र खतरापूर्ण’ टिप्पणी गरेको छ ।
विदेशमन्त्री बारोटले आफ्नो सन्देशमा भनेका छन्, ‘फ्रान्स युद्धको पक्षमा होइन, शान्तिको पक्षमा उभिएको हो ।’ उनले दुई–राज्य समाधानलाई शान्तिको आधार मानेर अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।