२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

अन्तरिक्ष यात्रामा सहकार्य : अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री संयुक्त मिसनमा

अन्तरिक्ष विज्ञानमा अन्तर्राष्ट्रिय सहकार्यको सशक्त उदाहरण प्रस्तुत गर्दै अमेरिकी अन्तरिक्ष संस्था नासा र निजी कम्पनी स्पेसएक्सले आगामी ३१ जुलाई २०२५ मा नयाँ मानवयुक्त मिसन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फ पठाउने घोषणा गरेका छन् ।


यो मिसन नासाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अमेरिकी पूर्वी समय अनुसार दिउँसो १२:०९ बजे प्रक्षेपण गरिनेछ ।



‘क्रू–११’ नाम दिइएको यस अभियानमा चार अन्तरिक्ष यात्री सहभागी छन्- नासाका जिना कार्डम्यान र माइक फिन्के, जापानी एयरोस्पेस अनुसन्धान संस्थान (JAXA) का किमिया युई, र रसियन रोस्कोसमोसका ओलेग प्लातोनोभ । उनीहरूलाई स्पेसएक्सको ‘क्रू ड्र्यागन’ अन्तरिक्ष यानले बोक्नेछ । मिसनअन्तर्गत प्रक्षेपण भएको ३६ घण्टापछि, अगस्ट २ तारिख बिहान करिब ३ बजे आईएसएसमा डक गर्ने अपेक्षा गरिएको छ ।

यो अभियान नासाको ‘कमर्शियल क्रू प्रोग्राम’ अन्तर्गतको ११औँ मानवयुक्त मिसन हो, जुन सरकारी तथा निजी सहकार्यको उत्कृष्ट नमुनाका रूपमा स्थापित हुँदै आएको छ । यस कार्यक्रमको उद्देश्य मानवसहितको अन्तरिक्ष यात्रा सुरक्षित, भरपर्दो र लागत–प्रभावी बनाउनु हो ।



नासाले यस माध्यमबाट स्पेसएक्स र बोइङजस्ता निजी कम्पनीलाई अन्तरिक्ष यान विकासमा सहभागी गराउँदै स्वदेशी प्रविधिमा आत्मनिर्भरता र नवप्रवर्तनमा अग्रसरता देखाएको छ । साथै, अन्तरिक्ष यात्रामा सरकारी एकाधिकार हटाउँदै नयाँ प्रतिस्पर्धात्मक युगको ढोका पनि खोलिएको छ । 

‘क्रू–११’ मिसन विज्ञान, प्रविधि र सहकार्यको त्रिकोण हो, जसले पृथ्वीको परिधिभन्दा परको मानव गतिविधिलाई अझ सशक्त बनाउनेछ । अमेरिका, जापान र रसिया जस्ता शक्ति राष्ट्रको वैज्ञानिक सहकार्यले भविष्यमा बहुपक्षीय अन्तरिक्ष अभियानलाई थप गति दिने विश्वास गरिएको छ ।



  • प्रकाशित मिति : ९ साउन, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया