२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

चीन-पाकिस्तानबीच सैन्य सहयोग बढाउने समझदारी, भारत-अमेरिका सशंकित

पाकिस्तान र चीनबीच सैन्य सहकार्य तीव्र बनिरहेकाले दक्षिण एसियाको सुरक्षा सन्तुलन फेरि अस्थिरतातर्फ उन्मुख देखिन्छ । भारतको पहलगाममा भएको आतंकी आक्रमणपछि पाकिस्तानले अत्याधुनिक मिसाइलमार्फत दिएको जवाफी कारबाही र त्यसमा चीनको संलग्नताका सूचकहरूले यस क्षेत्रमा शक्ति सन्तुलन पुनः परिभाषित हुन थालेको संकेत दिएका छन् ।


भारतले सञ्चालन गरेको ‘अपरेसन सिन्दूर’अन्तर्गत पाकिस्तानी भूमिमा लक्षित मिसाइल आक्रमणलाई पाकिस्तानले ‘निष्क्रिय’ पारेर सफल प्रत्याक्रमण गरेको दाबी गर्दै आएको छ । त्यही कारबाहीमा चीनमा निर्मित मिसाइलको प्रयोग भएको पुष्टि भएपछि भारत र अमेरिका दुवै सचेत बनेका छन् । चीनका राजदूत स्वयं पाकिस्तानी विदेश मन्त्रालय पुगेका र मिसाइल सफलतापूर्वक प्रहार भएकोमा खुसी व्यक्त गरेका घटनाले चीन–पाकिस्तान सैन्य सहकार्य अब कूटनीतिक तहबाट कार्यान्वयन तहमा पुगेको देखाउँछ ।



अत्याधुनिक चिनियाँ मिसाइल प्रयोगका बारे विश्व नै अनभिज्ञ रहँदा पाकिस्तानले त्यसलाई सफलतापूर्वक परीक्षणको रूपमा प्रयोग गर्नु भारतका लागि मात्र होइन, अमेरिकाका लागि पनि नयाँ चिन्ताको विषय बन्यो । अमेरिकी राष्ट्रपति र विदेशमन्त्रीको कूटनीतिक प्रयासपछि मात्र भारत–पाकिस्तानबीच तत्कालीन युद्ध सम्भावनालाई रोक्न सकिएको थियो ।

भारतसँगको रणनीतिक साझेदारी बलियो बनाउँदै आएका अमेरिका, फ्रान्स र अष्ट्रेलियाजस्ता देशहरूले अब दक्षिण एशियामा चीन–पाकिस्तान ध्रुवीय गठबन्धनलाई अझ गम्भीरतासाथ लिनुपर्ने आवश्यकता देखिएको छ ।



त्यसै सन्दर्भमा पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल सैयद असिम मुनीरको हालै सम्पन्न चीन भ्रमण रणनीतिक हिसाबले अति महत्त्वपूर्ण मानिएको छ । उनले चीनका उपराष्ट्रपति हान झेङ, विदेशमन्त्री वाङ यी, चिनियाँ सेनाका शीर्ष नेताहरूलगायत जनमुक्ति सेनाको नेतृत्वसँग विस्तृत भेटवार्ता गरेका छन् । ती भेटमा आतंकवादविरुद्धको सहकार्य, संयुक्त सैन्य अभ्यास, अत्याधुनिक हतियार निर्माण र रणनीतिक समन्वय अभिवृद्धि गर्नेसम्मको सहमति भएको पुष्टि भएको छ । चिनियाँ सैन्य नेतृत्वले पाकिस्तानको भूमिका शान्ति र स्थायित्वको संवाहकका रूपमा चित्रण गर्दै सैन्य साझेदारीलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको छ ।

मुनीरको भ्रमणपछि भारतको चासो थप गहिरिएको छ । चीनसँग मिलेर पाकिस्तानले अघि सारेको सैन्य पहलले भारतको सामरिक प्राथमिकतामाथि सिधा असर पार्न सक्छ । मुनीरले कार्यभार सम्हालेलगत्तै दिएको चेतावनी (शत्रु राष्ट्रले कुनै पनि बेला अनपेक्षित घटना व्यहोर्नुपर्नेछ) ले भारतलाई अझ सचेत बनाएको थियो । त्यो चेतावनीपछि भएको पहलगाम आक्रमण र त्यसपछिको मिसाइल भिडन्तले दक्षिण एशियाको सामरिक तापक्रम झनै बढाएको छ ।

साथै यो नयाँ सैन्य समीकरणले केवल भारतलाई मात्र होइन, अमेरिकी रणनीतिक सन्तुलन नीति ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’लाई पनि प्रभावित पार्न सक्छ । भारतसँगको रणनीतिक साझेदारी बलियो बनाउँदै आएका अमेरिका, फ्रान्स र अस्ट्रेलियाजस्ता देशहरूले अब दक्षिण एशियामा चीन–पाकिस्तान ध्रुवीय गठबन्धनलाई अझ गम्भीरतासाथ लिनुपर्ने आवश्यकता देखिएको छ ।

चीन र पाकिस्तानबीचको बढ्दो सैन्य घनिष्ठता र साझा सुरक्षात्मक रणनीतिले अब क्षेत्रीय प्रतिस्पर्धालाई नयाँ स्तरमा पुर्याएको छ । भारतले यदि समयमै प्रष्ट सुरक्षा रणनीति र कूटनीतिक सक्रियता नदेखाएमा सामरिक सन्तुलनमा चिनियाँ प्रभाव झनै गहिरिँदै जानेछ । यही पृष्ठभूमिमा, दक्षिण एशियाको सुरक्षा परिदृश्य फेरि द्विध्रुवीय सत्ताको परिधिमा फस्ने खतरा तीव्र हुँदै गएको छ । –एजेन्सीको सहयाेगमा 



  • प्रकाशित मिति : ९ साउन, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया