इजरायली सेनाले गाजाको तीन प्रमुख क्षेत्रमा दैनिक १० घण्टाको लडाइँ रोक्ने घोषणा गरेको छ । गाजा सहर, देइर अल–बलाह र मुवासीमा लागू हुने यो रणनीतिक विराम बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म प्रभावी हुनेछ। सेनाले यसबाट मानवीय सहायता प्रवाह सहज हुने बताएको छ ।
यो निर्णय २१ महिनादेखिको युद्धले गाजामा निम्त्याएको भोकमरीका संकट र अन्तर्राष्ट्रिय आलोचना बढेपछि आएको हो । हाल गाजाको अधिकांश जनसंख्या सहायता सामग्रीमा निर्भर छ।
इजरायली सेनाले आइतबार गाजामा पिठो, चिनी र डिब्बाबन्द खाना एयरड्रप गरेको पनि बताएको छ । तर, संयुक्त राष्ट्रसङ्घका अनुसार गाजालाई दैनिक पाँच सयभन्दा बढी ट्रक आवश्यक भए पनि हाल प्रवेश पाउने ट्रकहरूको संख्या ७० भन्दा कम छ ।
संयुक्त राष्ट्रसङ्घले सहायता वितरणमा बाधा, भीड र गिरोहद्वारा लुटपाट, र इजरायलद्वारा लगाइएको कडा नियन्त्रणका कारण स्थिति गम्भीर बनेको बताएको छ । इजरायलले भने हमासले सहायता चोर्ने गरेको दाबी गर्दै राष्ट्रसङ्घको संयन्त्रप्रति असन्तुष्टि जनाएको छ, जुन राष्ट्रसङ्घले अस्वीकार गरेको छ ।
मे महिनादेखि इजरायलले अमेरिका दर्ता गरिएको ‘गाजा मानवीय फाउन्डेसन’लाई समर्थन गर्दै चार वितरण केन्द्र खोल्न दिएको थियो। तर नयाँ सहायता साइट नजिकै मात्र १,००० भन्दा बढी प्यालेस्टिनी मारिएको संयुक्त राष्ट्र मानव अधिकार कार्यालयको तथ्याङ्क छ ।
गाजा युद्ध ७ अक्टोबर २०२३ मा हमासको इजरायलमाथिको आक्रमणपछि सुरु भएको हो, जसमा १,२०० जना इजरायली मारिएका थिए । इजरायली कारबाहीमा हालसम्म ५९ हजार ७०० भन्दा बढी प्यालेस्टिनी मारिएको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ, जसमा आधाभन्दा बढी महिला र बालबालिका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।