कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।
निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन्, जसमा तीन जनाको मृत्यु भएको उनले बताइन् ।
पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशानालको तथ्याङ्कले देखाएको छ । हालसम्म मोरङमा ९१३, झापा ८९७, सुनसरी ३७७, उदयपुरमा २७५, भोजपुर २२६, धनकुटा १४३, ओखलढुङ्गा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ दुई, इलाम पाँच, सोलुखुम्बु ६ र तेह्रथुम दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले जानकारी दिइन् ।
उनले विगत ५० वर्षको अवधिमा विश्वमा डेङ्गुको सङ्क्रमण ३० गुणाले बढेको पाइएको बताइन् । जनस्वास्थ्य अधिकृत खत्रीले प्रत्येक जिल्लामा स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीहरूद्वारा खोजपड्ताल र नष्ट गर्ने कार्यक्रम भइरहेको बताइन् ।
निर्देशनालयकी अधिकृत खत्रीले एडिज एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोकेमा डेङ्गुको सङ्क्रमण हुने हुँदा पूरा बाहुला भएको वा शरीर पूरै ढाकिने लुगा लगाउन अनुरोध गरिन् ।
‘डेङ्गु हुनबाट बच्ने एउटै मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिने हो’, उनले भनिन्, ‘घर वरिपरि सफा राख्ने र पानी जम्ने भाँडाकुँडा हटाउने गरेमा पनि एडिज जातको लामखुट्टेबाट बच्न सकिन्छ ।’ रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।