२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

साउनमा आधाले घट्यो मासु व्यापार : व्यापारी चिन्तित
फाइल तस्बिर

साउनको सुरुवातसँगै काठमाडौं उपत्यकामा मासुको व्यापार झन्डै आधाले घटेको छ । लामो समयदेखि मासु व्यवसायमा संलग्न व्यापारीहरू यस वर्ष झनै व्यापार सुस्त भएको बताउँछन् । 


कलङ्कीमा विगत २० वर्षदेखि खसी र कुखुराको मासु बेच्दै आएका व्यापारी सन्दीप महर्जनका अनुसार साउन लागेसँगै कारोबारमा तीव्र गिरावट आएको छ । ‘सामान्य दिनमा १५० वटासम्म कुखुरा बिक्री हुन्थ्यो,’ महर्जनले भने, ‘तर, अहिले ८० वटा पनि बिकाउन गाह्रो पर्छ । सोमबार त झन् कारोबार अत्यन्तै न्यून हुन्छ ।’



महर्जनले विगत वर्षहरूमा पनि साउनमा व्यापार घट्ने अनुभव गरे पनि यसपटक त्यो असर अझै बढी देखिएको बताउँछन् । धार्मिक मान्यता अनुसार साउनलाई पवित्र महिना मानिने भएकाले धेरैले मासु परित्याग गर्ने, व्रत बस्ने परम्परा हुँदा व्यापार घटेको हो । साथसाथै बिहे, भोज र अन्य सार्वजनिक कार्यक्रमहरू कम हुँदा पनि यसको असर परेको छ ।   

कलङ्कीका अर्का मासु व्यापारी देव रानाको अनुभव पनि यस्तै छ । असारसम्म दैनिक ३० किलोसम्म मासु बिक्री हुने गरेकोमा साउनमा त्यो मात्रा आधाले घटेको छ ।  



हाल राजधानीमा करिब तीन हजारजति मासु व्यवसायी छन् । तीमध्ये धेरैजसोले साना ठूला पशुवधस्थलमार्फत व्यापार गरिरहेका छन् । काठमाडौं महानगरपालिकाका अनुसार उपत्यकामा करिब २५० वटा साना–ठूला राँगा, भैँसी, खसीको वधस्थल सञ्चालनमा छन् । 

पशु स्वास्थ्य तथा स्वच्छतासम्बन्धी मापदण्डको पालना नगरी व्यवसाय सञ्चालन गर्नेहरूको संख्या पनि बढ्दै गएको छ । काठमाडौं महानगरपालिका पशु सेवा शाखाका वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाले व्यवसायीहरूको आधारभूत ज्ञानको कमीले पशु कल्याणमा समस्या देखिएको बताए । 

‘१२–२५ घण्टासम्म उभ्याएर राखिएका, नाकमा डोरीले बाँधिएका, मुखबाट फिँज निस्केका, शरीरभरि चोटपटक लागेका पशुहरू वधस्थलमा आइपुग्छन्,’ झाले भने, ‘व्यवसायीहरूमा पशु कल्याणसम्बन्धी सामान्य चेतना अभाव छ ।’ 

कामपाले मासु व्यवसायलाई व्यवस्थित गर्न नियमित अनुगमन जारी राखेको जनाएको छ ।   



  • प्रकाशित मिति : १२ साउन, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया