एनआईसी एशिया बैंकले शेयर धितोमा आधारित नयाँ कर्जा योजना ‘NIC ASIA ATHOT Loan Against Share’ सार्वजनिक गरेको छ ।
प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम) अर्थात् हालको दरमा ८.१७ प्रतिशतमा उपलब्ध यो योजनाअन्तर्गत ग्राहकहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक, वित्तीय संस्था, बीमा कम्पनीलगायतका साधारण शेयर धितो राखेर कर्जा लिन सक्ने छन् ।
बैंकका अनुसार, शेयरको पछिल्लो कारोबार मूल्य वा १८० दिनको औसत मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ । न्यूनतम् ५० लाखदेखि अधिकतम १५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ ।
सहज र छिटो सेवा प्रवाहका लागि आवश्यक कागजातहरू प्राप्त भएपश्चात ३ कार्यदिनभित्र कर्जा उपलब्ध गराउने तयारी बैंकले गरेको छ । साथै, कर्जा प्रक्रिया सहज बनाउन ‘कर्जा सहायता केन्द्र’ स्थापना गरी एकद्वार प्रणालीमार्फत परामर्श र गुनासो समाधान गर्ने व्यवस्था गरिएको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले शेयरबजारप्रति बैंकको प्रतिबद्धता झल्काउने गरी योजना ल्याइएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।