अमेरिका–चीन व्यापार युद्ध : नेपाललाई हर्ष न विस्मात् !

चीन र अमेरिकाबीच जारी व्यापारयुद्ध उत्तेजित बन्दै जाँदा विश्वभर त्यसको असर बढ्दो छ । फेसबुक र ट्विटरलाई २००९ देखि नै प्रवेश नदिएको चीनले पाँच वर्षअघि गुगलका सबै सेवा बन्द गरिदिएपछि गुगलको विश्व नम्बर एक कम्पनी बन्ने होडमा ठूलो धक्का लाग्यो । विश्वकै ठूलो बजार चीनमा छिर्न नपाएपछि आम्दानीको ठूलो हिस्सा गुम्ने नै भयो । र, पनि चीनबाहिरको बजारमा एकछत्र पहुँच भएकाले ती कम्पनी डुब्ने कुरो भएन ।

पाँच वर्षपछि साइबर सुरक्षाको कारण देखाउँदै चिनियाँ कम्पनी हुवावेलाई अमेरिकाले कालोसूचीमा राखेपछि गुगलले पनि चिनियाँ कम्पनीसँगको व्यापार तोडेको जनायो । दोस्रो ठूलो बजार अमेरिकामा प्रतिबन्धित भएपछि हुवावेको विश्व मोबाइल सेट उत्पादनमा विश्व नम्बर एक बन्ने सपनामा ठूलो धक्का लाग्यो । तर, चिनियाँ बजार आफैँमा विश्वको ठूलो बजार भएकाले र मोबाइल सेटभन्दा टेक्नोलोजीको उत्पादक भएकाले यो कम्पनी पनि डुब्ने कुरो भएन । अति राष्ट्रवाद र विश्वासको संकटले गर्दा एक–अर्काका उत्पादन निषेध गर्ने यो होडले खुला बजार र स्वच्छ प्रतिस्पर्धामाथि भने ठूलो चुनौती थपिएको छ । यो क्रम रोकिने देखिन्न ।

चीनले अमेरिकी उत्पादन एप्पललाई चीनमा प्रतिबन्ध लगाउने संकेत देखिएको छ भने ट्रम्पले भर्खरै ३०० बिलियन डलर बराबरको आयातमा थप कर लगाउने बताएका छन् । चीनले बदलास्वरूप 'rare-earth minerals'को निर्यात घटाउन सक्ने अनुमान मिडियाहरूमा पढ्न पाइन्छ । यो धातुको मुख्य उत्पादक राष्ट्र चीन रहेछ र यो धातु दैनिक उपभोग्य इलेक्ट्रोनिक्स उपकरणदेखि क्यान्सरको उपचारसम्म व्यापक प्रयोग हुँदो रहेछ । यदि यो सिलसिला बढ्यो भने ओप्पो, श्याओमी, लेनोभो, जेडटिईजस्ता विश्वकै ठूला चाइनिज इलेक्ट्रोनिक्स कम्पनीहरू पनि प्रभावित हुन सक्छन् ।

तर, समस्या के छ भने अमेरिकी आइफोनमा प्रतिबन्ध लाग्यो र त्यसको व्यापार घट्यो भने सबैभन्दा ठूलो असर चीनलाई नै पर्दो रहेछ । आइफोनको एसेम्बली त्यहीँ हुन्छ र लाखौँले प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी पाएका छन् । अनि अमेरिकाले चिनियाँ सामानमा कर बढाउँदा उसका आफ्नै ठूला कम्पनी प्रभावित हुने रहेछन् । त्यहाँ मूल्यवृद्धि अकासिने र अन्ततः अर्थतन्त्रमाथि थाम्नै नसकिने बोझ पर्ने अनुमान पनि छ । यद्यपि करबाट उठ्ने रकम स्थानीय उत्पादकलाई अनुदान दिएर भए पनि आमउपभोक्तालाई भार नथप्ने ट्रम्पले वाचा गरेका छन् । चीनले पनि अमेरिकासँगको व्यापारयुद्धबाट सिर्जित बेरोजगारी र साना उद्योगमाथि पर्न गएको क्षतिलाई सम्बोधन गर्ने बताएको छ ।

चीनमात्रै होइन, ट्रम्पले मेक्सिकोदेखि क्यानडा र भारतदेखि इयुसम्मबाट हुने आयातमा कर बढाउने नीति लिएको देखिन्छ । विश्वकै ठूलो अर्थतन्त्र अमेरिकाको ऋण र व्यापारघाटा पनि विश्वकै उच्च छ । मजदुरको ज्याला र सुविधा धेरै भएकाले उत्पादन लागत बढ्ने कारण अमेरिकी कम्पनीले समेत लगभग सबै उत्पादन र सेवा चीन या अन्य देशबाट आउटसोर्सिङ गर्ने गरेका छन् । फलतः बेरोजगारी र घाटा दुवै बढेको छ र यसलाई ट्रम्पले एकल मुद्दा बनाएको देखिन्छ । नाफा नहुने देखेपछि आफ्ना पूर्व सहयोगीहरूलाई समेत डम्प गर्ने ट्रम्प नीति देखिन्छ ।



उसो त हामीले अमेरिकाले आयातमा बढाएको करभन्दा बढी कर धेरैअघिबाट लगाउँदै आएका छौँ । हाम्रो व्यापार माखाको पित्तजत्रो भएकाले त्यो चीन या अन्य देशका लागि मुद्दा नबनेको हो । नत्र अमेरिकाले भन्दा बढी गाली हामीले खाने थियौँ । त्यसैले त्यसमाथि टिप्पणी गर्ने खास हक हामीलाई नहोला । हामी विश्वका ठूला अर्थतन्त्रको संघर्षलाई प्रभावित गर्न सक्ने अवस्थामा पनि छैनौँ । तर, एक–अर्काको निषेध र संघर्षले खाली हुन आएको ठाउँ भर्न मात्रै सके पनि देशले काँचुली फेर्थ्यो । तर, गोलभेँडा त आफूलाई पुग्ने जति फलाउन नसक्नेलाई बेल पाकेर के हर्ष, के विस्मात् !



  • प्रकाशित मिति : जेठ २३, २०७६ बिहीबार १७:१८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया