२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

संसदमाथि मन्त्रीहरुको मजाक : न जिम्मेवारीपन, न आत्मसमीक्षा
मर्यादा भुलेर संसदमै निदाउँछन् मन्त्रीहरु

संघीय संसदका दुवै सदनदेखि प्रदेश सभाका बैठकहरुमा अचम्म अचम्मका दृष्यहरु देख्न पाइन्छ । कतै सांसदहरु मोबाइल चलाइरहेको, कतै सांसदहरुले गुट्खा खाएको, महत्वपूर्ण बहस हुँदा गफ गरेको, चुइगम पड्काइरहेको आदीआदी । असोभनीय देखिने तर हाम्रा लागि सामान्य भइसकेको एउटा दृश्य भने बारम्बार देखिन्छ । त्यो हो, हाम्रा माननीयहरु संसदमै निदाइरहेको दृष्य । 


संसदमा महत्वपूर्ण बहस चलिरहेको हुन्छ, तर सांसद मात्रै होइन मन्त्रीहरु नै त्यसलाई बेवास्ता गरेर निदाइरहेका हुन्छन् । 



केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा बैठकमा सहभागि हुन हलभित्र प्रवेश गर्छन् । सत्तापक्षको पहिलो रोमा बसेका थिए, सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । प्रधानमन्त्री आउँदा अन्य पछाडी बसेका मन्त्रीहरुले बसेकै ठाउँबाट नमस्कार गरे । 

प्रधानमन्त्री ओलीले मन्त्री गुरुङलाई नमस्कार गरे । तर मस्त निद्रामा रहेका मन्त्री गुरुङले चालै पाएनन् । आफूले नमस्कार गर्दा समेत मस्त निद्रामा रहेका मन्त्रीको अवस्था देखेर प्रधानमन्त्री ओली हासेर आफ्नो स्थानमा बसे । संसदमा महत्वपूर्ण विषयमा छलफल हुँदा समेत मन्त्रीहरु गैरजिम्मेवार देखिएको विषयमा बारम्बार आलोचना भइरहन्छ । तर जति आलोचना भए पनि न मन्त्रीहरुले आत्मालोचना गर्छन्, न त आफूबाट त्रुटी भएकोमा क्षमायाचना नै गर्छन् । 



त्यो त एउटा प्रतिनिधि घटना मात्रै हो । अझ बुधबारको संघीय संसदको उपल्लो सदन मानिने राष्ट्रिय सभामा झन अनौठो दृष्य देखियो । जहाँ एक मात्र होइन ३–३ जना मन्त्रीहरु लाइनै लागेर निदाइरहेका थिए । त्यो पनि प्रधानमन्त्री ओलीकै अघि । 

हिजोको राष्ट्रिय सभा बैठकमा महत्वपूर्ण विषयमा छलफल हुँदै थियो । जहाँ प्रधानमन्त्री ओली समेत उपस्थित थिए र सभालाई सम्बोधन समेत गरेका थिए । 

राष्ट्रिय सभामा हिजोको कार्यसूची थियो, नेपाल अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्रयाजुएसन) भएपछिको अवस्थाबारे जानकारी र बहस ।

सहभागि थिए उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, रक्षामन्त्री मानबहादुर राई । प्रधानमन्त्री ओलीसँगै बसेका थिए तीन मन्त्रीहरु । एलडीसी ग्रयाजुएसनका विषयमा बहस चलिरहेको थियो, प्रधानमन्त्री बहस चाखपूर्ण तरिकाले सुनिरहेका थिए । साथमै रहेका तीन मन्त्रीहरु जो निदाइरहेका थिए । उनीहरु राष्ट्रिय सभा हलको पहिलो रो मा नै बसेका थिए । ती मन्त्रीहरुको ध्यान न संसदको बहसमा थियो, न त सार्वजनिक रुपमा आलोचना हुन्छ भन्ने डर नै । प्रधानमन्त्रीकै अघि मन्त्रीहरु निउरिमुन्टी गरेर निदाइरहेका थिए । जिम्मेवार बन्नुपर्ने मन्त्रीहरु त्यस्ता महत्वपूर्ण बहसमा समेत निदाइदिन्छन् । प्रधानमन्त्री ओलीसँगै केही मन्त्रीहरु बसेका थिए । त्यसपछि आम सञ्चार माध्यमदेखि सामाजिक सञ्जालसम्म समेत आलोचना भइरहेको छ । 



तर मन्त्रीहरुलाई न आत्मग्लानी छ, न त कुनै क्षमायाचना नै गर्छन् । जनताको जनप्रतिनिधिमुलक संस्था संसदमा देखिने त्यस्ता हर्कतहरु हामीलाई सामान्य लाग्न थालेका छन्, किनकी ती दृष्यहरु बारम्बार दोहोरिरहन्छन् । अरुमाथि प्रश्न उठ्दा नैतिकताको पाठ घोकाउने नेताहरु आफूमाथि पर्दा निरिह बनेका दृष्यहरु ताजा नै छन् । न पश्चाताप, न आत्मग्लानी अनि त्यसपछिको आत्मालोचना नै । वर्षौँदेखि नेताहरुको गैरजिम्मेवारपन, न जवाफदेहिता न उत्तरदायित्व । हामी पटकपटक तीनै असफल व्यक्तिहरुलाई जिम्मेवारीमा पुर्याउँछौँ अनि फेरि नयाँपनको आशा पनि गरिरहन्छौँ । 

  • प्रकाशित मिति : १५ साउन, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया