साउनको आधा बितिसक्दा पनि खेत सुक्खा छन् । टोलका बूढापाका भन्छन्- ‘यस्तो खडेरी कहिल्यै देखिएको थिएन । कहिले पानी पर्ने हो, थाहा छैन । र, अब पानी परे पनि फाइदा छैन । बिउ बुढो भइसकेको छ । उत्पादन घट्ने निश्चित छ ।’
कृषिविज्ञ छवि पौडेलका अनुसार यो सामान्य मौसमको असर होइन । यो चेतावनी हो । चुरे क्षेत्रको दोहनले तराई र मधेशको जलस्रोत सुक्दै गएको छ । ट्युबेलहरू चल्दैनन् । जमिनमुनिको पानी ओरालो झरेको छ । सिँचाइ आयोजना छन्, तर काम लाग्दैनन् ।
सरकारी तथ्याङ्कअनुसार मधेश प्रदेशमा ५० प्रतिशत सिँचाइ सुविधा छ । तर, व्यवहारमा त्यो १५ प्रतिशतभन्दा कम क्षेत्रमै सीमित छ । बाँकी ठाउँ आकासे पानीको भरमा छ । तर, यो वर्ष आकाशले पनि साथ दिएको छैन ।
पौडेलले सुझाउँछन्, ‘अब बाली विविधीकरण नगरे देशले ठूलो मूल्य चुकाउनुपर्नेछ । धान सिँचाइमा धेरै पानी चाहिन्छ । उस्तै पानीले मकै, कोदो, जुनेलो फलाउँदा उत्पादन पनि बढी हुन्छ, एक किलो धानमा लाग्ने पानीले १० किलो मकै फल्छ ।’
धानको योगदान नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा करिब ५ प्रतिशत छ । खेत बाँझै छाड्ने हो भने जीडीपी पनि घट्छ । तर, पौडेल भन्छन्, ‘विकल्प रोज्यौँ भने अर्थतन्त्रलाई बचाउन सकिन्छ । किसानको जीवनस्तर पनि सुधारिन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।