अहिले हलमा नेपाली फिल्मको खडेरी छ । झरीको समय फिल्म हेर्न को पो जालान् ? त्यसैले हलमा अहिले विदेशी फिल्मकै राज छ । जेठमा पाँच नेपाली फिल्म लगातार हप्तै पिच्छे प्रदर्शनमा आए पनि असारदेखि प्रदर्शन हुने फिल्मको सङ्ख्या ह्वात्तै घटेको हो ।
हलमा फिल्मको संख्या घटिरहँदा राजधानीका थिएटर भने नाटकले भरिएका छन् । त्यति मात्र होइन यति बेला धेरै रङ्गकर्मीहरूले नाटकमा फिल्म स्टारहरूलाई लिन थालेका छन् भने फिल्म स्टारहरूले पनि नाटकतिर बढी चासो देखाइरहेका हुन् ।
केही साता अघि कान्तिपुर थिएटर, गैरीधारामा नाटक ‘मिरा’ मञ्चन भयो । दीपक सिंजाली लिखित तथा सुन्दर धिताल निर्देशित नाटकमा दर्शकहरूको बाक्लो उपस्थिति रह्यो । एक त नेपाली सिने उद्योगकी सुपरस्टार रेखा थापाको डेब्यु नाटक । त्यसमाथि प्रेममा जातका कुरा, समुदायका कुरा, आर्थिक वर्गका कुरा, तथा दुई परिवारका द्वन्द्वलगायतका कुराहरू समावेश भएको प्रेमकथा । त्यसपछि के नै चाहियो र ? नाटक हेर्न युवा राजनीतिज्ञ ज्ञानेन्द्र शाही देखी थुप्रै कलाकारहरू नै थिएटरसम्म पुगेका थिए ।
झण्डै साढे दुई दशकदेखि चलचित्रमा व्यस्त रहेकी रेखाले पहिलो नाटकबाटै दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिन् । यस्तै कान्तिपुर थियटरमा अहिले मञ्चन भइरहेको छ, साहित्यकार पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’मा आधारित नाटक ‘शिरीषको फूल’।
अहिले स्टार बन्ने सपना बोकेर आउने धेरै कलाकार फिल्मबाट सुरुवात गर्छन्, तर रङ्गमञ्चमा फर्किनेहरू भने अभिनयको मूल जरा भेट्न चाहने कलाकारहरू हुन् । पर्दाको चमक पछाडि हराउँदै गएको असली अभिनय को अभ्यासले अब मञ्चमा पुनर्जन्म लिँदै छ।
एक दशकभन्दा लामो समय अमेरिका बसेर अभिनयबाट टाढा रहेका चर्चित अभिनेता जीवन लुइँटेलले यसै नाटकमार्फत कला क्षेत्रमा पुनरागमन गरेका छन् । जहाँ अभिनेता जीवन लुइँटेलसँगै अभिनेत्री सनिशा भट्टराई पनि छिन् । चलचित्र ‘१२ गाउँ’बाट डेब्यु गरेकी सनिशाको पनि यो डेब्यु नाटक नै हो । नाटकमा जीवनले ‘सुयोगवीर’, सनिशाले ‘सकम्बरी’ पात्रको भूमिकामा आफूलाई प्रस्तुत गरेका छन् ।
रेखा थापा र जीवन लुइँटेल मात्रै होइन पछिल्लो समय ठूला पर्दामा चम्किएका स्टारहरूले रङ्गमञ्चमा पुनरागमन गर्न थालेको यो नयाँ चलनले नेपाली अभिनयको वृत्तमा उत्साह थपेको छ । पहिले चलचित्रमा मात्रै स्टार खोजिन्थ्यो भने अहिले नाटक तिर पनि ‘स्टार’ खोजिन थालेको हो । किनकि यसअघि पनि थुप्रै फिल्मका कलाकारहरूले नाटक खेलिसकेका छन्।
गत पुसमा मण्डला नाटक घरमा नाटक ‘हरि हजुरबा’ मञ्चन भएको थियो । अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा मञ्चन भएको नाटकमा नाजिर स्वयंसहित अभिनेता विजय बराल पनि थिए । अभिनेताद्वय दयाहाङ राई र बुद्धि तामाङ निर्माता रहेको यो नाटकले २२ लाख ग्रस कलेक्सन गर्दै मण्डला थिएटरको धेरै कमाउने नाटकमध्ये शीर्ष ५ मा पर्न सफल भएको थियो ।

ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’मा देखिएका विजय बरालको क्रेज नाटक ‘हरि हजुरबा’मा पनि देखिएको अनुमान त्यो बेला गरिएको थियो । यस्तै गत मंसिरमै मञ्चन भएको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’मा पनि फिल्ममै चलेका अनुहार कार्म शाक्य र मेनुका प्रधान मुख्य भूमिकामा थिए। नाटकले दर्शकहरूको राम्रो साथ पाएपछि दर्शकहरूको मागअनुसार नाटकको मञ्चन अवधि एक साता थप गरिएको थियो ।
यसअघि विं स. २०७० सालमा महानायक राजेश हमाल पनि पहिलो पटक नाटकमा देखिएका थिए । उनले अनुप बराल निर्देशित नाटक ‘कोर्ट मार्सल’मा अभिनय गरेका हुन् । त्यतिबेला ‘कोर्ट मार्सल’ले दर्शकहरूको व्यापक चर्चा पाएपछि त्यसैलाई पछ्याउँदै धेरै रंगकर्मीले नाटकमा फिल्म स्टारहरूलाई लिने गरेका हुन् ।
२०७० सालको माघ–फागुनतिर नाटक ‘चारुमती’ बाट केकी अधिकारीले पहिलो पटक स्टेजमा डेब्यु गरिन् । नेपाल–भारत सम्बन्धको ऐतिहासिक पाटोमा सत्यमोहन जोशीले लेखेको त्यो नाटक पनि निकै चलेको थियो। नाटक हेर्न तत्कालीन राष्ट्रपति रामवरण यादवसहित तत्कालीन भारतीय राजदूत रञ्जित राय तथा नेताहरू झलनाथ खनाल, सूर्यबहादुर थापा, पशुपति शमशेर राणालगायत पुगेका थिए ।
२०७५ सालमा कलाकार नीर शाह पनि नाटक ‘बाथटब’ मा देखिएका थिए । दर्जनौँ नाटक खेलिसकेका शाह ३२ वर्षपछि रङ्गमञ्चमा फर्किएका थिए । २०७८ सालमा विपिन कार्की र उषा रजकले युवराजको नाटक ‘अनुपस्थित तीन’ मा अभिनय गरेका थिए । २०७९ को मंसिरमा अभिनेता दयाहाङ राईले पनि नाटक निर्देशनमा कमब्याक गरे। उनी निर्देशित नाटक ‘कुभिण्डोको कथा’ दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा समेत मञ्चन भएको थियो ।
२०८० मा अभिनेत्री मलिका महतले पनि ‘पगला घोडा’ मार्फत रङ्गमञ्चमा डेब्यु गरिन् । त्यस्तै, अभिनेत्री सुरक्षा पन्तले पनि ‘क्लेशा’ मार्फत पहिलोपल्ट नाटकमा डेव्यु गरेकी हुन् ।
नाटकघर कलाकारिताको अभ्यास गर्ने थलो हो । जहाँबाट जन्मेका थुप्रै कलाकारहरू सिनेक्षेत्रमा चर्चाको शिखरमा छन्। जसमा अहिलेका चर्चित तथा व्यस्त अभिनेता दयाहाङ राईदेखि विजय बराल, विपिन कार्की, सौगात मल्ल, बुद्धि तामाङ, कार्म शाक्य, खगेन्द्र लामिछाने लगायतका कलाकारहरू पर्छन्। त्यस्तै, दिया मास्के, अरुणा कार्की, सरिता गिरी, मेनुका प्रधान, सिर्जना सुब्बा र लक्ष्मी बर्देवा लगायतका अभिनेत्रीहरू पनि रंगमञ्चकै उत्पादन हुन्। त्यसैले उनीहरू बेलाबेला रङ्गमञ्चमा फर्किनुलाई थिएटरप्रतिको मायाको रूपमा समेत हेरिन्छ ।

अहिले स्टार बन्ने सपना बोकेर आउने धेरै कलाकार फिल्मबाट सुरुवात गर्छन्, तर रङ्गमञ्चमा फर्किनेहरू भने अभिनयको मूल जरा भेट्न चाहने कलाकारहरू हुन् । पर्दाको चमक पछाडि हराउँदै गएको असली अभिनय को अभ्यासले अब मञ्चमा पुनर्जन्म लिँदै छ।
फिल्मस्टारहरूका लागि यो केवल विकल्प होइन, अभिनयको आत्माको पुनः खोजी हो । र, दर्शकका लागि पनि स्क्रिनमा हेर्ने स्टारलाई सजीव रूपमा अनुभूति गर्न पाउनु स्वाभाविक रूपमा रोमाञ्चक कुरा हो । यस्तो अवस्थामा, रङ्गमञ्च केवल वैकल्पिक यात्रा होइन, सम्भावनाले भरिएको नयाँ दिशातर्फको सशक्त पाइला हो, जहाँ कलाको मौलिकता र कलाकारको निखारिएको अनुहार दुवैले फेरि सास फेर्न थालेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।