यही अगस्ट १४ देखि २४ सम्म अष्ट्रेलियाको डार्विनमा आयोजना हुने टप इन्ड टी–२० सिरिजका लागि नेपालको टिम घोषणा गरिएको छ । सो प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।
टिममा अलराउन्डर कुशल मल्लले पुनरागमन गरेका छन् । पछिल्लो स्टकल्याण्ड टूरमा स्थान नपाएका उनका लागि यो सिरिज अन्तर्राष्ट्रिय फर्ममा पुनः फर्किनका लागि महत्वपूर्ण अवसर हुनेछ ।
सोमबार घोषित टिममा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, गुलशन झा, आरिफ सेख, भीम सार्की, कुशल मल्ल,सोमपाल कामी, नन्दनकुमार यादव, रुपेशकुमार सिंह, करण केसी, रिजन ढकाल, लोकेश बम र ललितनारायण राजवंशीले मौका पाएका छन् ।
नेपालले प्रतियोगिताको लिग चरणमा ६ खेल खेल्ने तालिका सार्वजनिक भइसकेको छ । नेपालले पहिलो खेलमा १५ अगस्टमा स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकविरुद्ध खेल्ने तालिका छ । त्यसपछि नेपाल १६ अगस्टमा बंगलादेश ‘ए’, १८ अगस्टमा मेलबर्न स्टार्स, १९ अगस्टमा होबार्ट हरिकेन्स, २० अगस्टमा मेलबर्न रेनेगेड्स र २२ अगस्टमा पाकिस्तान शाहीन्सविरुद्ध खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित ११ टोली सहभागी हुने छन् लिग चरणपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्ने छन् । त्यहाँबाट दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । नेपालले अस्ट्रेलिया भ्रमणलाई विश्वकप छनोटको तयारीको रूपमा हेरेको छ । नेपालले विश्वकप छनोट आउँदो अक्टोबरमा खेल्ने तालिका छ ।

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।