प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको फाइनलमा पुलिस क्लब र आर्मी क्लब भिड्दै

काठमाडौं– प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार हुने भएको छ । सो प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । 

सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताको फाइनल भिडन्त कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । दुवै टोली उपाधि रक्षा गर्ने उद्देश्यका साथ मैदानमा उत्रनेछन् । 
    
पुलिसले बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पाँच विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने आर्मीले बुधबार भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश नं ३ ११७ रनले लाई पराजित गर्दै फाइनलमा पुगेको हो । 
     
समूह चरणको खेलमा भने पुलिसले आर्मीलाई पराजित गरेको थियो । पुलिसले आर्मीलाई ५० रनको भारी अन्तरले पराजित गर्यो । त्यसैगरी, पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले,  प्रदेश नं १ लाई ७५ रन तथा प्रदेश २ लाई १५६ रनको भारी अन्तरले पराजित गरेको थियो ।
    
त्यसैगरी, आर्मीले भने प्रदेश २ लाई १७१ रनले पराजित गरेको थियो भने प्रदेश १ लाई ११३ रनको भारी अन्तरले पाखा लगाएको थियो । त्यस्तै आर्मीले कर्णाली प्रदेशलाई ११७ रनले हरायो भने पुलिससँग पराजित भएको थियो ।  
    
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपालय इन्टरनेसनल प्रालिको सहकार्यमा भएको उक्त प्रतियोगिताको विजेता टोलीले २० लाख रुपैयाँ तथा उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 





  • प्रकाशित मिति : जेठ २४, २०७६ शुक्रबार १४:१०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया