भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट सोमबार साँझ स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी समर्थकको साथमा भव्य स्वागतका बीच काठमाडौं ओर्लिएका थिए । बझाङका ढाँटले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रका लागि अझ प्रभावशाली प्रदर्शन गर्ने प्रतिबद्धता जनाए ।

‘मैदानमा छिरेपछि डर भन्ने कुरा आफैं हराउँदो रहेछ’, उनले भने, ‘एकपटक पिँजडामा छिरेपछि लड्नुछ, जुध्नुछ र जसरी भए पनि ढाल्नुछ भन्ने सोच आउँछ । सरकारलाई केही भन्नु छैन । तर, दर्शकको माया यति धेरै छ कि उनीहरूकै लागि अझ मिहिनेत गर्न प्रेरणा मिल्छ । देशवासीका लागि अझ राम्रो प्रदर्शन गर्नु मेरो दायित्व हो ।’
ढाँटले आइतबार राति भएको बान्टमवेट भिडन्तमा भारतका डिफेन्डिङ च्याम्पियन चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा नकआउट गर्दै उपाधि जितेका थिए । यस जितसँगै उनले आफ्नो व्यावसायिक रेकर्ड ८–१ मा सुधार गरे ।
उक्त जितसँगै ढाँट म्याट्रिक्स फाइट नाइटको बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनले व्यक्तिगत उपलब्धि मात्र हासिल गरेका छैनन्, नेपाली एमएमएलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम पनि गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।