घाना सरकारले आर्थिक वर्ष २०२५/२६ का लागि ‘कोको’ किसानलाई तिर्ने मूल्यमा ६२.५८ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । अब किसानले प्रतिटन ५ हजार ४० अमेरिकी डलर पाउनेछन्, जुन अघिल्लो ३ हजार १०० डलरभन्दा उल्लेखनीयरूपमा बढी हो ।
अर्थमन्त्री कासिएल एटो फोर्सनले अक्रामा पत्रकार सम्मेलनमार्फत घोषणा गर्दै कोको किसानलाई पसिनाको उचित मूल्य दिलाउने सरकारको प्रतिबद्धता दोहोर्याए ।
दोस्रो ठूलो कोको उत्पादक देश घानाको यो निर्णयले विश्व बजारमा चुलिँदो कोको मूल्यमा थप दबाब पार्ने अनुमान गरिएको छ । हाल आइभोरी कोस्टमा किसानलाई प्रतिकिलो करिब २,४४० डलर बराबरको दरमा मूल्य दिइँदै आएको छ ।
मूल्य वृद्धिसँगै सरकार निःशुल्क मल, कीटनाशी, फफूँदनाशी र उत्पादन प्रवर्द्धक सामग्री वितरण कार्यक्रम पनि पुनः सुरु गर्दैछ ।
यसअघि बजारमा मूल्य बढ्दासमेत किसानले प्रतिफल नपाएको भन्दै व्यापक आलोचना भइरहेको बेला आएको यो निर्णयले उत्पादन क्षमता र आत्मबलमा सुधार आउने विश्वास गरिएको छ ।
कथितरूपमा उचित मूल्य नपाएर किसान जमिन सुन खन्नेहरूलाई बिक्री गरिरहेका थिए, जसले उत्पादन मात्र होइन, वातावरणमा समेत असर पारिरहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।