नेपाली क्रिकेट टिम विश्वकप छनोटको तयारीस्वरूप यही अगस्टमा टप इन्ड टी–२० सिरिजमा प्रतिस्पर्धा गर्ने तयारीमा छ ।
अस्ट्रेलियामा आयोजना हुने प्रतियोगितामा नेपाल पहिलोपटक भाग लिन लागेको हो । त्यसका लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीसमेत घोषणा गरिसकेको छ ।

११ टिमको सहभागिता रहने प्रतियोगिताको समूह चरणमा ६ म्याच खेल्ने नेपालले बिग बास लिग (बिबिएल) क्लब तथा पाकिस्तान साहिन्स र बंगलादेश ‘ए’ को सामना गर्नेछ ।
समूह चरणको शीर्ष चारमा पर्ने टोली सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
कति बलियो छन्, नेपालको प्रतिस्पर्धी ?
प्रतियोगिताको मिति नजिकिएसँगै टप इन्ड टी–२० सिरिज खेल्ने टिम अभ्यासमा व्यस्त छन् । र, उनीहरूमध्ये अधिकांशले टोलीसमेत घोषणा गरिसकेका छन् । नेपालसँग खेल्ने ६ मध्ये अहिलेसम्म पाँच टिमले अन्तिम टिम घोषणा गरेका छन् ।
प्रतियोगितामा नेपालले पहिलो खेल १५ अगस्टमा नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्ने तालिका छ । घरेलु क्लब नर्दनले डार्सी सर्ट र केन रिचडर्सनजस्ता टी–२० का अनुभवी खेलाडीलाई टिममा समावेश गरेर सिरिज जित्ने लक्ष्य लिएको छ ।

अस्ट्रेलियाका लागि २३ टी–२० र आठवटा ओडिआई खेलिसकेका डार्सी र ३६ टी–२० तथा २५ ओडिआईको अनुभव संगालेका रिचडर्सनको उपस्थितिले नेपालका युवा खेलाडीलाई चुनौती दिने पक्काजस्तै छ ।
सर्ट र रिचडर्सन दुवैले आइपिएल, बिबिएल, पिएसललगायत चर्चित फ्रेन्चाइज लिगको अनुभव हासिल गरिसकेका छन् । उनीहरू नेपालविरुद्ध भने पहिलोपटक खेल्न लागेका हुन् ।
नेपालको दोस्रो म्याच १६ अगस्टमा हुनेछ, जहाँ नेपालको भेट बंगलादेश ‘ए’ सँग हुने तालिका छ । टप इन्ड टी–२० सिरिजका लागि बंगलादेशले नुरुल हसनको कप्तानीमा बलियो टिम घोषणा गरिसकेको छ ।

कप्तान हसन बंगलादेशका लागि ४६ टी–२०, ११ टेस्ट र सात ओडिआई खेलिसकेका अनुभवी विकेटकिपर/ब्याटर हुन् । उनको नेतृत्वमा बंगलादेशले सैफ हसन, मोहम्मद नइम, अफिफ होसेन, महिदुल इस्लाम, हसन महमुद, यासिर अली, नइम हसन, मृत्युन्जय चौधरी, रकिबुल हसन र रिपन मन्डोलजस्ता अन्तर्राष्ट्रिय अनुभव प्राप्त खेलाडीलाई टिममा राखेको छ ।
नेपालको तेस्रो खेल मेलबर्न स्टार्सविरुद्ध हुनेछ । मेलबर्नले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका खेलाडीलाई मौका दिएको छैन । यद्यपि उसले बिबिएलको अनुभव हासिल गरेका युवा खेलाडीलाई भने टिममा राखेको छ ।
यस्तै, नेपालले चौथो खेल १९ अगस्टमा होबार्ट हरिकेन्ससँग खेल्ने तालिका छ । यो भिडियो तयार पार्दासम्म होबार्टले आफ्नो अन्तिम टोली सार्वजनिक गरिसकेको थिएन । अष्ट्रेलियाको प्रतिष्ठित क्लबमध्ये एक होबार्टले पनि प्रभावशाली टोली घोषणा गर्ने आकलन गरिएको छ ।
नेपालले प्रतियोगितामा आफ्नो पाँचौं खेलमा २० अगस्टमा मेलबर्न रेनेगेड्ससँग खेल्नेछ । रेनेगेड्सले टिम इन्ड टी–२० सिरिजका लागि अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव हासिल खेलाडीलाई पनि स्थान दिएको छ ।

उसले अस्ट्रेलियाका लागि दुई ओडिआई खेलिसकेका अलराउन्डर विल सदरल्यान्डलाई समावेश गरेको हो । साथै बिबिएलमा सशक्त प्रदर्शन गरेका खेलाडीलाई पनि रेनेगेड्सले मैदान उतार्न लागेको छ, जसले नेपालका बलर र ब्याटर दुवैको क्षमताको वास्तविक परीक्षा लिनेछ ।
समूह चरणको अन्तिम खेल नेपालका लागि सबैभन्दा चुनौतीपूर्ण हुनसक्छ, जहाँ नेपालको भिडन्त २२ अगस्टमा पाकिस्तान ‘ए’ टिमसँग हुनेछ । पाकिस्तानले नेपालविरुद्ध खेल्नका लागि १४ टी–२० र ९ ओडिआई खेलिसकेका मोहम्मद इरफान खानको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।
यस्तै, सिनियर टोलीबाट खेलिसकेका अब्दुल समद, अहमद दानियाल, फैसल अक्रम, मुबासिर खान र मोहम्मद सलमान मिर्जा पनि नेपालविरुद्ध खेल्ने छन् ।

समग्रमा टप इन्ड टी–२० सिरिज नेपालका लागि अक्टोबरमा हुने टी–२० विश्वकप छनोटको तयारी प्रतियोगिता हो । अनुभवी र प्रतिस्पर्धी खेलाडीसँग सामना गर्दै नेपालले आफ्नो रणनीति, संयोजन र खेलाडीको व्यक्तिगत प्रदर्शन परीक्षण गर्न पाउनेछ ।
मानसिक तयारी, टोलीबीचको तालमेल र योजनाको कार्यान्वयनजस्ता पक्षमा सुधार गर्दै नेपालले टप इन्ड टी–२० सिरिजलाई विश्वकप छनोटको सशक्त पूर्वतयारीका रूपमा उपयोग गर्ने अपेक्षा गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।