भुटानको राजधानी थिम्पुमा आजदेखि सुरु हुने एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ अन्तर्गतको खेल थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा साँझ पौने ६ बजे सुरु हुनेछ ।
केही दिनअघि बंगलादेशमा सम्पन्न साफ यू–२० च्याम्पियनसिपमा नेपालले भुटानलाई ६–१ र ८–० को फराकिलो अन्तरले हराएको थियो । त्यसैको आत्मविश्वासका साथ नेपाल मैदान उत्रनेछ भने भुटान घरेलु दर्शकको समर्थनमा बलियो प्रदर्शन गर्ने लक्ष्यमा हुनेछ ।
नेपालका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले साफ र एएफसी छनोट फरक प्रतियोगिता भएको बताउँदै भुटानलाई कमजोर ठान्न नहुने बताएका छन् । ‘उनीहरू दिन–प्रतिदिन सुधार गर्दै छन् । घरेलु मैदान र दर्शकको साथ उनीहरूको बल हो,’ गुरुङले भने ।
त्यस्तै, भुटानकी प्रशिक्षक टंक माया घलेले पनि टिम आत्मविश्वासी रहेको बताइन् । ‘हामीले साफमा सिकेका कमजोरी सच्याएका छौं र यसपटक राम्रो नतिजाको अपेक्षा गरेका छौँ,’ उनले भनिन् ।
नेपाल, भुटान, उत्तर कोरिया र साउदी अरेबिया सम्मिलित समूह ‘ए’ को विजेता टिमले अर्को चरणमा स्थान बनाउनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।