२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

मधेशको प्राविधिक शिक्षामा नयाँ ऊर्जा भर्दै कालिका बहुप्राविधिक शिक्षालय

मधेशको शैक्षिक भूगोलमा एउटा नयाँ सम्भावनाको ढोका खुलेको छ, जहाँ सीप, रोजगारी र आत्मनिर्भरताको सपना विस्तारै मूर्तरूप लिँदै छ । सर्लाहीको हरिपुर्वानगरपालिका–६, जहाँ दशकौँसम्म प्राविधिक शिक्षाको पहुँच टाढा थियो, अहिले त्यहीँ ठाउँमा ‘कालिका बहुप्राविधिक शिक्षालय’ एक भरोसायोग्य संस्थाको रूपमा उदाउँदैछ ।


२०७८ सालमा थालिएको योजनाले २०८० सालदेखि विधिवत् शैक्षिक रूप लिँदै मधेशको पूर्वी र दक्षिणी छेउमा प्राविधिक ज्ञानको बीजारोपण सुरु गरिसकेको छ । स्थानीय युवालाई दक्ष जनशक्तिमा रूपान्तरण गर्दै समृद्धिको यात्रा तय गराउने लक्ष्यसहित स्थापना भएको यो शिक्षालय अब मधेशका ग्रामीण समुदायमा परिवर्तनको पर्याय बन्न थालेको छ । 



प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( सिटिइभिटी) र हरिपुर्वा नगरपालिकाको साझेदारीमा सञ्चालनमा आएको शिक्षालयलाई स्थापना गर्न शिक्षालय प्रमुख सुरेन्द्रकुमार यादवले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनी आफ्नै गाउँमा  प्राविधिक शिक्षालय स्थापना गरेर त्यहाँका विद्यार्थीलाई प्राविधिक ज्ञान दिने उद्देश्य लिएर शिक्षालय स्थापना गर्न लागिपरेका यादवले करिब दुई वर्षको विभिन्न उतारचढाव पछि मात्रै शिक्षालय स्थापना गर्न सफल भएको सुनाउँछन् । यादवका अनुसार शिक्षालय स्थापना गर्न तीनै तहका सरकारले साथ दिएको उनको अनुभव छ ।

अहिले कालिका बहुप्राविधि शिक्षालयमा ‘डिप्लोमा इन एग्रिकल्चर’ (एनिमल साइन्स), ‘डिप्लोमा इन फार्मेसी’ र ‘जेनरल मेडिसिन’का कार्यक्रम सञ्चालन हुँदै आएका छन्, जुन सबै तीनवर्षे कार्यक्रम हुन् ।



सर्लाहीको विकट मानिएको हरिपुर्वामा यस प्रकारको शिक्षालय खोल्नु आफैँमा चुनौतीपूर्ण कदम रूपमा हेरिएको थियो । अहिले उक्त प्राविधि शिक्षालयले ती चुनौतीलाई चिर्दै गति लिन थालेको छ ।

हरिपुर्वामा प्राविधिक शिक्षालय मात्र सञ्चालनमा आएको छैन उक्त शिक्षालयले त्यहाँका आम नागरिकमा शिक्षाप्रतिको दृश्टिकोण नै परिवर्तन गर्न सफल भएको छ । समुदायमै शिक्षालय सञ्चालनमा आएपछि विद्यार्थीलाई सहज त भएको छ नै आर्थिकरूपमा कमजोर परिवारका बालबालिकाले समेत प्राविधि शिक्षा अध्ययन गर्ने अवसर प्राप्त गरेका छन् ।

शहरी क्षेत्रमा राखेर आफ्ना छोरा–छोरीलाई अध्ययन/अध्यापन गराउन नसक्ने परिवारका लागि कालिका बहुप्राविधि शिक्षालय अवसर बनेको छ । शिक्षालयका कारण समुदायको आर्थिक क्षेत्रमा समेत सुधार आएको शिक्षालयको संस्थापक अध्यक्षसमेत प्रमुख सुरेन्द्रकुमार यादव बताउँछन् । 

उनका अनुसार शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीलाई होस्टेल बस्नुपर्ने अनिवार्य गरिएको छैन, जसका कारण उनीहरूले त्यहीँ नजिकैका घरहरू भाडामा लिएर बसेका छन् । जसबाट घरधनीले भाडाबापत आम्दानी गरिरहेका छन् भने अन्य व्यावसायिक क्षेत्र पनि चलायमान भएको छ ।



शिक्षालयमा अहिले तीनवटा कार्यक्रम सञ्चालन भए पनि भविष्यमा अझै धेरै कार्यक्रम सञ्चालनमा ल्याउने र करिब एक हजार विद्यार्थी पुर्याउने योजनामा आफूहरू रहेको शिक्षालय प्रमुख यादवले सुनाए । आफ्नो योजनाअनुसार शिक्षालयलाई थप व्यवस्थित गर्दै लग्न सके नगरपालिकाको ठूलो आयस्रोतको रूपमा शिक्षालय बन्न सक्ने उनको भनाइ छ ।

कालिका बहुप्राविधिक शिक्षालयले सिटिइभिटीले निर्धारण गरेको भन्दा निकै कम शुल्कमा अध्यापन गराइरहेकाले पनि त्यहाँ विभिन्न जिल्लाका विद्यार्थीको आकर्षणको केन्द्र बनेको यादवले बताए । अहिले पनि उक्त शिक्षालयमा १० भन्दा बढी जिल्लाका १७० जना विद्यार्थीले अध्ययन गरिरहेको शिक्षालय प्रमुख यादवको भनाइ छ ।

  • प्रकाशित मिति : २१ साउन, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया