नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानअन्तर्गतको चिकित्सा शास्त्र महाविद्यालयमा अध्ययनरत आठौँ ब्याचका ६० जना चिकित्सकलाई इन्टर्नसिप सम्पन्नको प्रमाणपत्र प्रदान गरिएको छ ।
जङ्गी अड्डाको सभामण्डपमा सोमबार आयोजित विशेष समारोहमा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले प्रमाणपत्र वितरण गरेका हुन् ।

कार्यक्रममा प्रधान सेनापतिले चिकित्सकलाई इन्टर्नसिप सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै भविष्यको सेवा यात्राका लागि शुभकामना व्यक्त गरे । उनले राष्ट्र र जनताको सेवामा इमान्दार, निष्ठावान र कर्तव्यपरायण भएर अगाडि बढ्न चिकित्सकलाई आग्रह पनि गरे ।
उक्त कार्यक्रममा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशकले स्वागत मन्तव्य राखेका थिए । यस्तै, बलाधिकृत, बलाध्यक्ष, रथीबृन्द, महाविद्यालयका प्राध्यापक, प्राचार्य तथा अन्य अधिकृतहरूको उपस्थिति रहेको थियो ।
३० भदौ २०६८ देखि सञ्चालनमा आएको नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानअन्तर्गतको चिकित्सा शास्त्र महाविद्यालयबाट हालसम्म ८१५ जना विद्यार्थीले एमबिबिएस अध्ययन पूरा गरिसकेको संस्थानले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।