१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

एनपिएल अक्सनमा १५० खेलाडी, यी ५ युवा स्टार पाउन सक्छन् महँगो मूल्य
युवा प्रतिभा र अनुभवी खेलाडीबीच कडा प्रतिस्पर्धा

नेपाल प्रिमियर लिग (एनपिएल) को फेरि माहोल सुरु हुँदैछ । र, त्यसको सुरुवात हुँदैछ शनिबार हुने अक्सनबाट । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने दोस्रो संस्करणको एनपिएलका लागि १५० खेलाडी अक्सनमा सहभागी हुँदै छन् । 


अक्सनमा आठवटा टोलीले खेलाडीमाथि बोली लगाउने छन् । खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीनवटा श्रेणीमा विभाजन गरिएको छ ।  अक्सनमा ‘ए’ मा आठ, ‘बी’ मा ३५ र ‘सी’ श्रेणीमा १०६ जना खेलाडी रहेका छन् । 



सूचीमा ६७ ब्याटर, ४१ बलर र ४२ अलराउन्डर छन्, यीमध्ये २६ जना विकेटकिपर हुन् । अक्सनमा मधेश प्रदेशबाट सबैभन्दा बढी ३० जना खेलाडी सहभागी हुने छन् । आठ टोलीले १५० मध्येबाट कम्तीमा ३७ खेलाडीका लागि बोली लगाउने छन्, जसमा ‘ए’ बाट चार, ‘बी’ बाट २३ र ‘सी’ श्रेणीबाट १० खेलाडी बिक्री हुने छन् । 



श्रेणी ‘ए’ मा रहेका खेलाडीको न्यूनतम् मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख रुपैयाँ तोकिएको छ । यस्तै, ‘बी’ श्रेणीमा खेलाडीको न्यूनतम् भाउ ५ लाखदेखि अधिकतम मूल्य १० लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । 

यस्तै, ‘सी’ श्रेणीका खेलाडीको न्यूनतम् मूल्य २ लाख र अधिकतम मूल्य ५ लाख रुपैयाँ मूल्य तय गरिएको छ । 

महँगोमा बिक्री हुनसक्ने पाँच खेलाडी 

मोहम्मद आदिल आलम



दोस्रो सिजनको एनपिएल अक्सनमा सर्वाधिक महँगो मूल्य पाउन सक्ने खेलाडीको शीर्ष स्थानमा छन्, अलराउन्डर मोहम्मद आदिल आलम । ‘स्पट फिक्सिङ’ प्रकरणका कारण गत सिजन गुमाएका उनले यसपालि एनपिएलमा डेब्यू गर्ने सम्भावना उच्च छ । 

आदिल ‘विस्फोटक’ ब्याटरका नामले परिचित छन् । र, उनले विगतमा त्यो प्रमाणित पनि गरिसकेका छन् । मिडियम फास्ट बलिङ पनि गर्ने आदिल एनपिएल अक्सनमा ‘ए’ क्याटागोरीमा छन् ।

उनलाई अनुबन्ध गर्न टिमहरूबीच कडा टक्कर हुने देखिन्छ । यस्तो अवस्थामा आदिलले अधिकतम मूल्य अर्थात् १५ लाख पारिश्रमिक पाउने सम्भावना छ । उनलाई भित्र्याउन लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्स प्रतिस्पर्धा गर्ने छन् । 

जनकपुर, सुदूरपश्चिम, काठमाडौं र विराटनगरले भने आदिललाई किन्न पाउने छैनन् । किनकी यी चार टिमसँग ‘ए’ क्याटागोरीको खेलाडी भित्र्याउन ठाउँ खाली छैन । 

देव खनाल

यस्तै, एनपिएल अक्सनमा महँगो मूल्यमा बिक्री हुनसक्ने अर्का युवा ब्याटर हुन्, देव खनाल । पहिलो संस्करणमा कर्णाली याक्सका लागि खेलेका उनले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । उनले ९ खेलमा ११६ रन मात्र बनाए । 

एनपिएलमा लयमा नदेखिएपछि पछिल्लो समय देव राष्ट्रिय टोली बाहिर छन् । यद्यपि उनले गत मार्चमा सम्पन्न पिएम कपमा राम्रो प्रदर्शन गरे । 

यू–१९ टिमका पूर्वकप्तानसमेत रहिसकेका देव ‘क्लासिक ब्याटर’का रूपमा चिनिन्छन् । शीर्षक्रममा ठिकठाक ब्याटिङ गर्ने उनलाई अनुबन्ध गर्न टिमहरू प्रतिस्पर्धा गर्ने सम्भावना छ । देव गत सिजनको अक्सनमा १० लाख रुपैयाँमा बिक्री भएको थियो । उनी यसपालि क्याटागोरी ‘ए’ मा समावेश छन् ।  

युवराज खत्री

एनपिएल अक्सनमा अधिकतम् मूल्य पाउन सक्ने अर्का खेलाडी हुन्, स्पिनर युवराज खत्री । उमेर समूहको क्रिकेटमा सानदार प्रदर्शन गरिरहेका उनी टिमहरूको पहिलो रोजाइमा पर्ने सम्भावना छ । पछिल्लो समय सिनियर टोलीको बन्द प्रशिक्षणमा नियमित स्थान बनाइरहेका युवराजले एनपिएल अक्सनमा क्याटागोरी ‘बी’ मा नाम दर्ता गराएका छन् । 

हालसम्म एनपिएलमा डेब्यू नगरेका उनले यसपालि भने त्यो सपना पूरा गर्ने सम्भावना उच्च छ । टियु मैदान स्पिन अनुकूल भएकाले पनि युवराजले अधिकतम मूल्य अर्थात् १० लाख पारिश्रमिक पाउने सम्भावना बलियो छ । 

हेमन्त धामी

एनपिएलमा महँगो मूल्य पाउनसक्ने अर्का खेलाडी हुन्, फास्ट बलर हेमन्त धामी । उनी दोस्रोपटक अक्सनमा सहभागी भएका हुन् । गत सिजनमा हेमन्त ५ लाख रुपैयाँमा जनकपुर बोल्ट्समा अनुबन्धित भएका थिए, जहाँ उनले २ म्याच मात्र खेल्न पाए ।

यू–१९ टिमका पूर्वकप्तानसमेत रहेका हेमन्तले सिनियर टोलीबाट समेत डेब्यू गरिसकेका छन् । पछिल्लो समय राम्रो लयमा रहेका उनी एनपिएल अक्सनमा अधिकतम मूल्यमा बिक्री हुने सम्भावना छ ।

हेमन्तले गत मार्चमा सम्पन्न पिएम कपमा ८ खेलमा १६ विकेट लिँदै लयमा फर्किएको संकेत दिएका थिए । 

रौनक श्रीवास्तव

एनपिएल अक्सनमा टिमकोहरूको प्रमुख रोजाइमा पर्नसक्ने अर्का युवा स्टार हुन्, ब्याटर रौनक श्रीवास्तव । उनी उमेर समूहको क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् । रौनकले गत जेठमा यू–१६ राष्ट्रिय प्रतियोगितामा दोहोरो शतकीय पारी खेल्दै इतिहास रचे ।

साथै, उनले गत जुलाईमा सम्पन्न इस्ट जोन कपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ‘सर्वोत्कृष्ट ब्याटर’ को अवार्ड जिते । सो प्रतियोगितामा रौनकले एक शतक र एक अर्धशतकसहित सर्वाधिक २९६ रन बनाए ।

लगातार उच्च प्रदर्शन गर्दै आएका उनी अब एनपिएलमा आफ्नो क्षमता देखाउन आतुर छन् । रौनकले अक्सनमा क्याटागोरी ‘सी’ मा नाम दर्ता गरेका छन् । 

  • प्रकाशित मिति : २१ साउन, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया