२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

रुसी तेल खरिद गरेकोमा भारतमाथि थप २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

भारतले रुसबाट तेल किनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप २५ प्रतिशत भन्सार कर लगाउने निर्णय गरेसँगै दुई मुलुकबीचको व्यापारिक सम्बन्धमा नयाँ तनावको संकेत देखिएको छ । यो निर्णय कार्यान्वयनमा आएपछि भारतबाट अमेरिकातर्फ हुने आयातमा भन्सार शुल्क ५० प्रतिशतसम्म पुग्नेछ । 


ह्वाइट हाउसले सार्वजनिक गरेको कार्यकारी आदेशमा २१ दिनपछि नयाँ दर लागू हुने प्रस्ट उल्लेख गरिएको छ । ट्रम्प प्रशासनको यो चाल आर्थिकभन्दा पनि राजनीतिक दबाब सिर्जना गर्न खोजिएको कूटनीतिक प्रयासजस्तो देखिन्छ । 



खासगरी ट्रम्पका विशेष दूत स्टिभ विट्कोफले मस्कोमा रुसी राष्ट्रपति पुटिनसँग भेट गरेपछि तुरुन्तै यस्तो घोषणा भएको हो भन्ने सन्दर्भले यो कदम संयोग मात्र हैन भन्ने पुष्टि गर्छ । रुसले युक्रेनमा युद्धविरामका लागि दिएको समयसीमाको पूर्वसन्ध्यामा भएको यो भेटवार्ता र त्यसपछि भारतमाथि अतिरिक्त कर लगाउने घोषणा, अमेरिकी विदेश नीतिको बदलिँदो रूप हो भन्ने बुझ्न गाह्रो छैन । 

अर्कोतर्फ ट्रम्पले आफैँले रुसबाट आयात भइरहेकै विषयमा अनविज्ञता देखाएको कुराले प्रश्न उठाउँछ– के यो निर्णय जानकारी र निष्पक्ष मूल्याङ्कनको आधारमा लिइएको हो त ? भारतले यसको जवाफमा प्रष्ट रूपमा भनेको छ, ‘अमेरिका अझै पनि रुसबाट युरेनियम, प्यालेडियम, मल र रसायन आयात गरिरहेको छ ।’



त्यसपछि पत्रकारले सोध्दा ट्रम्पले दिएको जवाफ थप दिलचस्प छ, ‘मलाई थाहा छैन मैले पत्ता लगाउनु पर्छ, पछि बताउँछु ।’ यस घटनाले देखाएको छ ट्रम्प प्रशासनको निर्णय प्रक्रिया स्पष्ट हैन । अर्कोतर्फ भारतले सार्वजनिकरूपमा अमेरिका र युरोपलाई नै घचघच्याउँदै भनेको छ, ‘रुससँग व्यापार गर्ने तपाईंहरूको अधिकार सुरक्षित छ । तर, हामीले तेल किन्यौं भने नीतिगत हमला हुन्छ यो दोहोरो मापदण्ड हो ।’

भारतले ठाडो पारामा राष्ट्रिय हित रक्षा गर्ने कुरा राख्दै प्रष्ट सन्देश दिएको छ, ‘हामी आफ्नो आर्थिक सुरक्षालाई प्राथमिकतामा राख्छौँ ।’ यही सन्देश राष्ट्रहितमा आधारित स्वतन्त्र परराष्ट्र नीतिको सूचक हो ।

भारतलाई रुसी तेल बेचेर नाफा कमाएको आरोप लगाएर थप कर लगाउने ट्रम्पको निर्णय अहिलेको बहुध्रुवीय विश्व सन्दर्भमा विडम्बनापूर्ण देखिन्छ । किनकि तथ्यांकअनुसार अमेरिकाले मात्र गत वर्ष रुससँग झण्डै ३.५ अर्ब डलरको व्यापार गरिसकेको छ । त्यस अवस्थामा अमेरिका स्वयंले अपनाएको व्यवहार र भारतमाथिको आक्रोशको तुलनात्मक औचित्य खोज्दा उत्तर स्पष्ट देखिन्छ, मापदण्ड समान छैनन् । यो घटनाले भारत–अमेरिका सम्बन्धको विश्वासको तहलाई नै असर गर्न सक्छ ।



  • प्रकाशित मिति : २१ साउन, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया