नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् । बिहीबार भट्टराईले भैरहवा कारागार पुगेर लामिछानेलाई भेटेका हुन् ।
भेटेपछि उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एउटा राजनीतिक जनताको प्रतिनिधि भएको मान्छे भागेर पनि सुख पाउँदैन भन्ने कुराको अनुमान गरेर पनि जमानतमा बाहिर रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे ।
‘उहाँमाथि त अन्तिम फैसला भइसकेको छैन । उहाँ न्यायिक हिरासतमा हुनुहुन्छ । कोही मान्छे भाग्छ अथवा थप अपराध गर्छ भन्ने लाग्दा न्यायिक हिरासतमा राख्ने हो । तर, एउटा राजनीतिक जनताको प्रतिनिधि भएको मान्छे भागेर पनि सुख पाउँदैन भन्ने कुराको अनुमान गरेर पनि जमानतमा बाहिर रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्थ्यो भन्ने मेरो बुझाइ हो,’ भट्टराईले भने ।
उनले रविलाई सूचनाबाट टाढा राखिएको गुनासो पनि गरे । भट्टराईका अनुसार रविलाई कारागारमै पत्रपत्रिका पढ्न दिइएको छैन । ‘उहाँलाई पत्रपत्रिका ल्याएर दिइँदो रहेनछ,’ उनले भने, ‘हामी त पञ्चायतकालमा पनि जेलमा हुँदा साथीहरूले पत्रपत्रिका ल्याइदिन्थे, पढ्थ्यौँ ।’
भैरहवा कारागारको भिजिटिङ सेसनमा सुरक्षा ड्युटीमा रहेका प्रहरीसँग भट्टराईले त्यसबारे जिज्ञासा राख्दा आफूहरूले पत्रपत्रिका रोक्ने कुनै आदेश नपाएको प्रतिक्रिया आएको बताए ।
‘मैले त्यहाँ सोध्दा सुरक्षाकर्मीले भने- खै हजुर, त्यस्तो कुनै आदेश त छैन,’ भट्टराईले भने, ‘तर जनप्रतिनिधिलाई सूचनाबाट वञ्चित गर्नु उचित हुँदैनथ्यो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।