१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

खेलाडीका लागि फिटनेस अनिवार्य कि अतिरिक्त मिहिनेत ?

खेलाडीको सफलतामा जति उसको लगन, मिहिनेत र सीपले भूमिका खेल्छ, त्यति नै महत्व उत्कृष्ट फिटनेसले पनि राख्छ । खासगरी क्रिकेटजस्तो शारीरिक सन्तुलन, तीव्रता, लचिलोपन र सहनशीलता आवश्यक पर्ने खेलमा त फिटनेस कुनै विकल्प होइन, अनिवार्य पूर्वशर्तजस्तै बनिसकेको छ । 


दुनियाँका महान खेलाडीलाई हेर्ने हो भने उनीहरूको सफल करियरको एउटा साझा आधार ‘फिटनेसकै प्रतिबद्धता’ हो । फिटनेसले न केवल खेलाडीको शरीर बलियो बनाउँछ, त्यसले उसको आत्मविश्वास र ध्यानमा पनि प्रभाव पार्छ ।



नेपालमा अहिलेसम्म राष्ट्रियस्तरमा यस्तो फिटनेस एसेसमेन्टको अभ्यास देखिँदैनथ्यो । तर, अब त्यो अभावको खाडल पुरिएको छ । पहिलोपटक नेपाली क्रिकेट टिमका खेलाडीको फिजिकल टेस्ट र फिटनेश परीक्षण सुरु गरिएको छ, जसले खेलाडीको शरीरभित्रको वास्तविक क्षमता, कमजोरी, सन्तुलन र आवश्यकता देखाउने छ ।



क्युआर स्क्यान, विश्लेषणात्मक व्यायाम र संरचित रिपोर्टिङमार्फत खेलाडी आफैंले थाहा पाउँछन्, कुन अंग कति सक्रिय छ, कुन मांसपेशी कति कमजोर छ र कतिमा ध्यान दिनुपर्छ । स्वदेशमै फिटनेश र फिजिकल टेस्ट गर्न पाएपछि खेलाडी उत्साहित देखिएका छन् ।

फिटनेस परीक्षणपछि आफ्नो शरीरको कमजोरी थाहा पाएर त्यसलाई सुधार गर्दा खेलमा पनि सुधार हुने बताउँछन्, तीव्र गतिका बलर सोमपाल कामी बताउँछन् । 

‘बलिङ धेरै गर्दा हाम्रो शरीर एकातर्फ धेरै झुक्छ, आज देख्न पाइयो मेरै शरीरको दायाँतर्फको भाग थोरै झुकेको जस्तो लाग्यो । यहाँ आएर क्युआर स्क्यान गरेपछि आफूले के–के व्यायाम गर्ने भन्ने पनि थाहा पाएँ । आफ्नो शरीरको कमजोरी थाहा पाएपछि त्यसमा नै काम गर्न सजिलो हुन्छ,’ उनले भने ।

नेपाली खेलाडीले ‘टप एण्ड टी–२०’ अघि अस्ट्रेलिया जानुअघि फिटनेस र फिजिकल टेस्ट गरेका हुन् । प्रतियोगिता अगस्ट १४ देखि २४ सम्म आयोजना हुनेछ । 



उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर विश्वकप छनोटअघि लयमा फर्किन टिमले फिटनेस र शारीरिक स्थायित्वलाई समेत प्राथमिकता दिएको हो । यसले टोलीको समग्र शारीरिक अवस्था बुझ्न, कमजोरी चिन्न र त्यसअनुसार तयारी गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको बताउँछन्, स्पोर्ट्स फिजियो लोकेन्द्र कुँवर  ।    

‘फिटनेस र फिजिकल टेस्ट जुनसुकै खेलका लागि पनि महत्वपूर्ण छ । क्रिकेट खेलाडीहरूको लागि झन किन महत्वपूर्ण छ । गेम खेल्नु अघि खेलाडीको शरीरमा के कुराको कमी छ, कुन–कुन मांसपेशीमा धेरै ध्यान दिनुपर्ने छ भनेर त्यसलाई ध्यान दिनुपर्ने हुन्छ । जसका कारण गेममा राम्रो प्रदर्शन गर्न सक्छौ भन्ने लाग्छ,’ उनले भने ।  

मुख्य प्रशिक्षक स्टुर्ट ल र खेलाडी पनि फिटनेस र फिजिकल टेस्टपछि टिमको प्रदर्शन सकारात्मक प्रभाव पर्नेमा विश्वस्त छन् । त्यसको नतिजा अब अस्ट्रेलियामा देख्न पाइनेछ ।

त्यहाँ रहँदा नेपालले १५ अगस्टमा नर्दन टेरिटोरी स्ट्राइक, १६ अगस्टमा बंगलादेश ‘ए’, १८ अगस्टमा मेलबर्न स्टार्स, १९ अगस्टमा होबार्ट हरिकेन्स, २० अगस्टमा मेलबर्न रेनेगेड्स तथा २२ अगस्टमा पाकिस्तान शाहिन्ससँग खेल्ने तालिका छ । 

त्यसपछि नेपाली टिम थप अभ्यासका लागि श्रीलंका जानेछ । त्यहाँबाट फर्किएर नेपालले वेस्ट इण्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्ने तालिका छ । यूएईमा आयोजना हुने उक्त सिरिजमा नेपाल र वेस्ट इण्डिज पहिलोपटक आमने–सामने हुने भएका हुन् । श्रृङ्खलाको खेल २५, २७ र ३० सेप्टेम्बरमा हुनेछ । 

त्यसपछि नेपाली टिम आइसिसी टी–२० विश्वकप छनोट खेल्न ओमानतर्फ लाग्नेछ । ८ अक्टोबरदेखि सुरु हुने सो प्रतियोगितामा ९ टिमले प्रतिस्पर्धा गर्नेछन् । 

तीनवटै समूहको सुरुवाती दुई टिमले सुपर सिक्समा स्थान बनाउने छन् । यस्तै, त्यहाँ पुग्ने शीर्ष तीनवटा टोलीले आउँदो वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।  

  • प्रकाशित मिति : २२ साउन, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया