नेतृत्वको असहिष्णुता नेपाली वाम राजनीति टुक्रिनुको मूल कारण बनेको छ । विचार, मूल्य र जनपक्षधर आन्दोलनको लामो इतिहास बोकेको वाम राजनीति अहिले व्यक्तिकेन्द्रित प्रतिशोधको अखडा बन्न पुगेको छ, जहाँ नेतृत्वले प्रश्न सुन्न चाहँदैन, आलोचना सहन सक्दैन र वैचारिक बहसको साटो संगठन चलाउने अधिकारलाई निजी सम्पत्तिझैँ उपयोग गर्छ ।
एमाले, माओवादी केन्द्र र नेकपा (एस) यी सबै वाम दलहरूमा यतिबेला नेतृत्वको निरंकुशता, गुटगत अहंकार र आत्मालोचनाविहीन संस्कृतिको गहिरो जरो फैलिएको छ । कुनै विचारको संघर्ष होइन, यहाँ व्यक्तिको दम्भ रक्षाका लागि कारबाही चल्छ । सार्वजनिकरूपमा ‘कम्युनिष्ट संस्कृति’ को वकालत गर्ने नेताहरू निजी असहमतिको न्यूनतम् अभिव्यक्तिलाई पनि अपमानको रूपमा लिन्छन् । फलतः पार्टी फुट्छ, नेतृत्व कमजोर हुन्छ र जनता झन् निराश बन्छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको शैली त्यसको ज्वलन्त उदाहरण बनेको छ । उनले पार्टीलाई ‘व्यक्तिगत सम्पत्ति’ ठानेको आरोप एमालेभित्रैका नेताहरूले खुलारूपमा लगाएका छन् । अध्यक्षविरुद्ध बोल्नेलाई निष्कासन/निलम्बन गर्ने, कार्यक्रमबाट हटाउने र आलोचकमाथि व्यक्तिगत हमला गर्ने ओलीको प्रवृत्तिले एमालेमा ‘स्वर’ हराउँदै गयो । भीम रावलदेखि माधव नेपाल, बिन्द्रा पाण्डे हुँदै उषाकिरण तिमल्सिना र हालै विद्या भण्डारीको मामिलासम्म ओलीले पार्टीलाई व्यक्तिवादी कठपुतलीमा सीमित बनाएको देखिएको छ ।
के पार्टी निजी कम्पनीजस्तै हो, जहाँ असहमति राख्ने कार्यकर्तालाई निष्कासन गरिन्छ ? के जनताको नाममा बनेको संगठन व्यक्तिगत अहं र प्रतिशोध पूरा गर्ने माध्यम हो ? यदि होइन भने आलोचना सहन सक्ने संस्कार विकसित गर, आत्मालोचना गर र नेतृत्वमा बहस र विचार विमर्शको परिपाटी पुनः स्थापित गर ।
अर्कोतर्फ, नेकपा (एस) भित्र पनि व्यक्तिवादको संक्रमण गहिरो हुँदै गएको छ । माधव नेपाल पार्टी फुटाएर नयाँ नेतृत्वको दाबी गर्न निस्किए पनि आफूभित्र आलोचना सहने साँघुरो मनोवृत्तिको फरक संस्करण होइनन् । रामकुमारी झाँक्रीको आलोचना, झलनाथ खनालको असहमति र नेताहरूबीचको असन्तोषलाई दबाउने शैलीबाट स्पष्ट हुन्छ, नयाँ दल जन्मिँदा पनि पुरानै रोग बोकेर हिँडिएको छ । पार्टीको सैद्धान्तिक धरोहरमा भन्दा गुटगत हिसाबकिताब, शक्ति गणना र वफादारहरूको सूची बनाउने शैलीले नेकपा एस पनि संकटतर्फ धकेलिएको छ ।
माओवादी केन्द्रमा पनि यही रोगले गहिरो चोट पुर्याएको छ । जनयुद्धबाट आएको पार्टीले विगतमा सशस्त्र विद्रोहको कुरा गथ्र्याे, आज त्यो पार्टी भित्रै बोल्न डराउनुपर्ने अवस्था छ । उपमहासचिव जनार्दन शर्माले अध्यक्षप्रतिको असहमति राखेपछि उनलाई आत्मालोचना गर्न दबाब दिने संस्कृति यही बताउँछ कि विचारभन्दा ठूला व्यक्ति हुन थालेका छन् । जनवादी केन्द्रीयता भनिएको पद्धति नेतृत्वको गल्ती नदेख्ने चस्मा बन्न पुगेको छ, जहाँ बोल्नेलाई गलाउने काम मात्र बाँकी रहन्छ ।
यी घटनाक्रमहरू नेपाली वाम आन्दोलनको अधोगतिलाई प्रतिबिम्बित गर्छन् । जहाँ नेताले आलोचना सुन्ने थलो बनाउनुपर्ने थियो, त्यहाँ अब उनीहरू आलोचकको आवाज बन्द गराउने संयन्त्रमा रूपान्तरण भएका छन् । जब नेतृत्व आलोचना सुन्न डराउँछ, जब पार्टी बहसको साटो बन्धनमा चल्न थाल्छ, तब त्यहाँ न संगठन बाँच्छ, न विचार । बाँच्छ भने नेतृत्वको घमन्ड, जसले पार्टी फुटाउँछ, आन्दोलन धराशायी बनाउँछ र वाम राजनीति जनताबाट टाढिँदै जान्छ ।
आजको परिस्थितिमा वाम नेताहरूले गम्भीर आत्मसमीक्षा गर्न आवश्यक छ । के पार्टी निजी कम्पनीजस्तै हो, जहाँ असहमति राख्ने कार्यकर्तालाई निष्कासन गरिन्छ ? के जनताको नाममा बनेको संगठन व्यक्तिगत अहं र प्रतिशोध पूरा गर्ने माध्यम हो ? यदि होइन भने आलोचना सहन सक्ने संस्कार विकसित गर, आत्मालोचना गर र नेतृत्वमा बहस र विचार विमर्शको परिपाटी पुनः स्थापित गर । नत्र भने वाम राजनीति असहिष्णु नेतृत्व र गुटीय द्वन्द्वको विघटनको दलदलमा क्रमशः फस्दै जानेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।