थाइल्याण्ड र कम्बोडियाबीच हालैको सीमा संघर्षपछिको अस्थायी युद्धविराम सम्झौतालाई विस्तार गर्ने सहमति बिहीबार भएको छ ।
सीमा नजिकको मन्दिर क्षेत्रमा पाँच दिनसम्म चलेको हिंसात्मक झडपमा ४३ जनाको मृत्यु भएपछि १३ साउनमा युद्धविराम गरिएको थियो ।
मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमको मध्यस्थतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ टोलीको आग्रहपछि भएको सम्झौता अब विस्तारित गरिएको हो ।
थाई उपरक्षामन्त्री नाट्टाफोन नार्कफानित र कम्बोडियाका रक्षामन्त्री टि सेइहाले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा सीमामा सैनिकको गस्ती र आवागमनमा रोक लगाउने तथा नागरिक क्षेत्रमा आक्रमण नगर्ने सहमति जनाइएको छ ।
सेइहाले भने, ‘यी कदमहरूले जीवन रक्षाका साथै विश्वास र सामान्य स्थितिको पुनःस्थापनामा मद्दत पुर्याउनेछन् ।’ दुवै पक्षले गलत सूचना नफैलाउने, एक महिनाभित्र पुनः बैठक बस्ने र युद्धविराम उल्लङ्घन नगर्ने प्रतिवद्धता जनाएका छन् ।
अमेरिकी राजदूत एडगार्ड कागनले यो सम्झौतालाई दिगो शान्तिका लागि पहिलो कदम भने पनि दुवै पक्षबीच अझै उच्च स्तरको अविश्वास रहेको बताएका छन् ।
यो विवाद सन् १९०७ को अस्पष्ट सीमाङ्कनसँग जोडिएको हो, जसका कारण दुवै देशले मन्दिर क्षेत्रमाथि दाबी गर्दै आएका छन् ।
पछिल्लो संघर्ष एक दशकयताकै घातक मानिएको छ, जसमा तीन लाखभन्दा बढी नागरिक विस्थापित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।