पाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको मिनिअक्सन सम्पन्न भएको छ । शनिबार भएको अक्सनमा आठ टोलीले २६ खेलाडीका लागि प्रतिस्पर्धात्मक बोली लगाए ।
पहिलो चरणमा नचयनिएका ११ खेलाडी भने ‘विस लिस्ट’ मार्फत टोलीमा समावेश भए । यसरी मिनिअक्सनमार्फत कुल ३७ खेलाडी दोस्रो सिजनका लागि विभिन्न टोलीमा आबद्ध भएका छन् ।
ए श्रेणीमा तीव्र प्रतिस्पर्धा
अक्सनमा ए श्रेणीका चार खेलाडी आदिल अन्सारी, पवन सर्राफ, देव खनाल र अर्जुन साउद अधिकतम मूल्य १५ लाख रुपैयाँमा बिक्री भए । यी चारै खेलाडीका लागि एकभन्दा बढी टोलीले चासो देखाएपछि लक्की ड्रमार्फत अन्तिम चयन गरिएको हो ।
सबैभन्दा बढी आकर्षण आदिल अन्सारीले पाए, जसका लागि आठै टोलीले बोली लगाए । लक्की ड्रमा काठमाडौं गोर्खाज विजयी हुँदै उनलाई भित्र्यायो, जसका कारण यस सिजन आदिल काठमाडौंबाट एनपिएल खेल्ने भएका छन् ।
तीन वर्षअघि फिक्सिङको आरोपमा क्यानबाट निलम्बित भएका पावर हिटर आदिल अदालतबाट निर्दोष ठहरिएका थिए। केही महिनाअघि क्यानले उनको निलम्बन फुकुवा गरेपछि उनी यस सिजन पुनः मैदानमा फर्कन लागेका हुन् ।
ए श्रेणीको मूल्य सीमा न्यूनतम १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँ थियो । बी श्रेणीमा यो सीमा ५ लाखदेखि १० लाख रुपैयाँ, र सी श्रेणीमा २ लाखदेखि ५ लाख रुपैयाँ तोकिएको थियो ।
यसअघि टोलीहरूले पहिलो सिजनका खेलाडीमध्ये न्यूनतम ६ र अधिकतम ७ खेलाडी रिटेन गरेका थिए, जसमा ५१ खेलाडी कायम भए । योसँगै आठ टोलीमा ८८ नेपाली खेलाडी आबद्ध भइसकेका छन् ।
अब प्रत्येक टोलीमा ११ जना नेपाली खेलाडी पुगेकाले, टोलीहरूले कम्तीमा चार जना विदेशी खेलाडी अनुबन्ध गर्ने तयारी गर्नुपर्नेछ ।
को कहाँ अनुबन्ध ?
चितवन राइनोज - देव खनाल, अर्जुन साउद, विपिन आर्चाय, विपिन रावल, रञ्जित कुमार
विराटनगर किंग्स : सूर्य तामाङ, शाहिल पटेल, नारायण जोशी, शंकर राना, श्रवण किस्कु
लुम्बिनी लायन्स : दिलिप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेस गुप्ता, आदिल खान
सुदूरपश्चिम रोयल्स : हेमन्त धामी, टेक रावत, दिपेन्द्र थापा, दिपक बोहरा, मिलन बोहरा
काठमाडौं गोर्खाज : उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल अन्सारी
पोखरा एभेन्जर्स : अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल, सन्दीप क्षेत्री
जनकपुर बोल्ट्स : सचिन भट्ट, आदित्य महता, मयन यादव, विकास आग्री
कर्णाली याक्स : पवन सर्राफ, इमरान शेख, दिपक डुम्रे, युवराज खत्री
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।