१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

‘बालोन डि’ओर प्रतिस्पर्धा २०२५ : मेस्सी-रोनाल्डो बाहिर, नयाँ पुस्ता अगाडि

बालोन डि’ओर अवार्ड विश्व फुटबलमा उत्कृष्ट व्यक्तिगत उपलब्धिको सर्वोच्च प्रतीक मानिन्छ । यो अवार्डले समर्पण, प्रतिभा र निरन्तर उत्कृष्टताका कारण फुटबलमा अमिट छाप छोड्न सफल खेलाडीलाई विश्वसामु परिचित गराउँछ ।


एक सिजनभरि मैदानमा देखाएको असाधारण प्रदर्शन, नेतृत्व क्षमता र निर्णायक क्षणहरूमा अनुकरणीय योगदानलाई मान्यता दिने बालोन डि’ओर अवार्डले खेलाडीको प्रतिष्ठा र करियरलाई नयाँ उचाईमा पुर्याउँछ ।



विश्वका लाखौं फुटबलप्रेमी, विशेषज्ञ र खेलकुद जगतले यसलाई सबैभन्दा सम्मानित र प्रेरणादायी सम्मानका रूपमा मान्यता दिएका छन्, जसले खेलको इतिहासमा अमूल्य योगदान गर्ने खेलाडीको पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेको छ ।



बालोन डि’ओर अवार्डका लागि हरेक वर्ष स्टार खेलाडीबीच कडा प्रतिस्पर्धा हुन्छ । र, यसपालि पनि उच्च प्रदर्शन गर्ने खेलाडी यो प्रतिष्ठित अवार्डका लागि दौडमा छन् ।   

वर्ष २०२५ को पुरुषतर्फको बालोन डि’ओर अवार्डका लागि ३० खेलाडी मनोनयनमा परेका छन् । त्यो सूचीमा पिएसजीका उस्मान डेम्बेले, रियल मड्रिडका केलियन एम्बाप्पे, बार्सिलोनाका लामिन यामल, लिभरपुलका मोहम्मद सलाह, बार्यन म्युनिखका ह्यारी केनलगायत स्टार खेलाडी छन् । बालोन डि’ओर अवार्डको मनोनयनमा पिएजीबाट सर्वाधिक ९ खेलाडी समावेश भएका छन् ।

यस्तै, बार्सिलोना र लिभरपुलबाट चार/चार, रियल मड्रिडबाट तीन, इन्टर मिलान र बार्यन म्युनिखबाट दुई–दुई तथा चेल्सी, नापोली, बोरुसिया डर्टमुण्ड, स्पोर्टिङ सिपी, आर्सन र म्यानचेस्टर सिटीबाट एक/एक खेलाडी मनोनयन सूचीमा अटाएका छन् ।

अब मनोनयनमा परेका ती ३० खेलाडीबाट एकजनाले आगामी सप्टेम्बरमा बालेन डि’ओर अवार्ड जित्ने छन् । निर्णायक खेलको प्रदर्शन, विभिन्न खेल विश्लेषकको अनुमानअनुसार यसपटक उस्मान डेम्बेले, लामिन यामाल, राफिन्हा र मोहम्मद सलाहामध्ये एकले बालोन डि’ओर जित्ने सम्भावना उच्च छ । 



उनीहरूमध्ये पीएसजीका फरवार्ड डेम्बेलेको पछिल्लो प्रदर्शन अन्य खेलाडीको तुलनामा अझ प्रभावशाली देखिन्छ । उनले निर्णायक खेलमा गोल र असिस्टद्वारा पीएसजीलाई ऐतिहासिक सफलता दिलाएका छन् ।

विशेषगरी इन्टर मिलानविरुद्ध जमर्नीमा हासिल गरेको ५–० को जित पिएसजीका लागि निर्णायक बन्यो । यही जितका कारण पिएसजीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्यो ।

त्यो उपलब्धि दिलाउन डेम्बेलेको भूमिका पनि अहम् थियो । बार्सिलोनाका दुई युवा स्टार याममल र राफिन्हाले पनि क्लबलाई घरेलु लिग, कोपा डेल रे र स्पेनिस सुपर कप जिताए । उनीहरूको आक्रामक शैली, पोजिसनिङको चातुर्यता र निर्णायक क्षमताले बार्सिलोनालाई नयाँ उचाइमा पुर्‍याए ।

यद्यपि देश बाहिरको प्रतिष्ठित प्रतियोगिताको फाइनलमा यामाल र राफिन्हा निर्णायक प्रदर्शन गर्न चुके । यहीकारण निर्णायक क्षणमा टोलीको नेतृत्व गर्न सफल डेम्बेले बालोन डि’ओर दौडमा अग्र स्थानमा छन् । 

त्यस्तै, लिभरपुलका स्टार फरवार्ड मोहम्मद सलाहालाई पनि बालोन डि’ओर अवार्ड जित्ने सम्भावित खेलाडीको रूपमा हेरिएको छ । उनले लिभरपुललाई प्रिमियर लिगको उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका थिए । तर, युरोपेली च्याम्पियन्स लिग, एफए कप र काराबाओ कपजस्ता प्रमुख प्रतियोगितामा अपेक्षित सफलता हासिल गर्न नसक्दा सलाहाको व्यक्तिगत अवार्ड जित्ने सम्भावना केही कमजोर देखिएको छ ।

हालसम्म सबैभन्दा धेरैपटक अर्जेन्टिनी सुपरस्टार लिओनल मेस्सीले बालोन डि’ओर अवार्ड जितेका छन् । उनले आठपटक यो प्रतिष्ठित अवार्ड जितेका हुन् । मेस्सीपछि यो सूचीमा पोर्चुगल टिमका कप्तान क्रिस्टियानो रोनाल्डो रहेका छन् ।

उनले अहिलेसम्म पाँचपटक बालोन डि’ओर अवार्ड जितेका छन् । यसपालि भने मेस्सी र रोनाल्डो बालोन डि’ओर अवार्डको मनोनयनमा परेका छैनन् । 

  • प्रकाशित मिति : २५ साउन, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया