लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाहले ‘प्यालेस्टिनी पेले’ भनेर चिनिने सुलेमान अल–ओबेदको निधनप्रति यूईएफएको श्रद्धाञ्जली पोस्टमाथि प्रश्न उठाएका छन् । उनले यूईएफएको पोस्टमा ओबेदको मृत्युको वास्तविक कारण उल्लेख नगरिनु अन्यायपूर्ण भएको उल्लेख गरेका छन् ।
प्यालेस्टिनी फुटबल संघ (पिएफए) का अनुसार ४१ वर्षीय ओबेदको मृत्यु गत बुधबार दक्षिणी गाजा पट्टीमा भएको हो । उनी मानवीय सहायता वितरणको पर्खाइमा रहेका बेला इजरायली सेनाले लक्षित आक्रमण गर्दा मारिएका थिए । पिएफएले यो घटनामा अन्य केही सर्वसाधारण पनि मारिएको जनाएको छ ।
यूईएफएले एक्समा ओबेदलाई सम्झिँदै लेखेको थियो, ‘सुलेमान अल–ओबेद, ‘प्यालेस्टिनी पेले’लाई बिदाइ । एक यस्तो प्रतिभा जसले अन्धकारमय समयमा पनि अनगिन्ती बालबालिकालाई आशा दिनुभयो ।’ तर, सालाहले त्यसमा प्रतिक्रिया दिँदै सोधे, ‘के तिमी हामीलाई बताउन सक्छौ, उहाँको मृत्यु कसरी, कहाँ र किन भयो ?’
गाजा सहरमा जन्मिएका ओबेद विवाहित थिए । उनी पाँच सन्तानका पिता थिए । उनले प्यालेस्टिनी राष्ट्रिय टिमका लागि २४ वटा अन्तर्राष्ट्रिय खेल खेलेका थिए । मैदानमा ओबेदको शैली, गोल गर्ने क्षमता र खेलप्रति समर्पणका कारण उनलाई ‘प्यालेस्टिनी पेले’ को उपनाम दिइएको थियो ।
सालाहले यसअघि पनि गाजा युद्धका पीडितका लागि आवाज उठाएका थिए । सन् २०२३ को अक्टोबरमा उनले ‘निर्दोष आत्माको हत्या रोक्न’ र गाजामा मानवीय सहायता प्रवेशको अनुमति दिन विश्व नेताहरूलाई एकजुट हुन आग्रह गरेका थिए ।
गाजा युद्ध हमासले सन् २०२३ को अक्टोबरमा इजरायलमाथि गरेको आक्रमणबाट सुरु भएको हो । पिएफएका अनुसार युद्ध सुरु भएदेखि हालसम्म खेलकुद र स्काउटिङ क्षेत्रमा ६६२ जना मारिएका छन्, जसमा फुटबल समुदायका मात्रै ३२१ जना छन् ।
गत सिजन प्रिमियर लिगका शीर्ष स्कोरर रहेका सालाह आइतबार लिभरपुलका लागि वेम्बलीमा हुने कम्युनिटी सिल्डमा क्रिस्टल प्यालेसविरुद्ध मैदानमा उत्रिँदै छन्, जसले इंग्लिस फुटबल सिजनको परम्परागत सुरुआत गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।