२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

एनपिएल अक्सनपछि बनेको टिम संयोजन : को कहाँ पुगे ?

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको मिनी अक्सन शनिबार सम्पन्न भयो । काठमाडौंमा आयोजना भएको अक्सनमा सहभागी १६४ मध्ये ३७ खेलाडी बिक्री भए ।


मिनी अक्सनमा केही टिम भाग्यमानी साबित भए । तर, केही टोलीलाई भने भाग्यले साथ दिएन ।  



कुन टिममा को ?



यसपालिको एनपिएल मिनी अक्सनमा सर्वाधिक भाग्यमानी बनेको टिम हो, काठमाडौं गोर्खाज । उसले सबै टिमले बोली लगाएका अलराउन्डर मोहम्मद आदिल आलमलाई लक्की ड्रमार्फत भित्र्याउन सफल भयो ।

साथै काठमाडौं अरू खेलाडी अनुबन्ध गर्नेक्रममा पनि भाग्यमानी बन्यो । उसले अक्सनमार्फत आदिलसहित उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव र आकाश त्रिपाठीलाई भित्र्यायो ।

काठमाडौंले अक्सनअघि करण केसी, भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतीक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको थियो । गत सिजनमा पाँचौं स्थान हासिल गरेको काठमाडौं आसन्न संस्करणमा भने च्याम्पियन बन्ने लक्ष्यका साथ टिम निर्माणमा जुटिरहेको छ । 



यस्तै, गत संस्करणमा तेस्रो बनेको कर्णाली याक्स पनि यसपालिको मिनी अक्सनमा सफल देखियो । उसले अक्सनमार्फत पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्रीलाई अनुबन्ध गर्‍यो ।

कर्णालीले यसअघि सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत, विपिनप्रसाद शर्मा र युनिशविक्रमसिंह ठकुरीलाई रिटेन गरेको थियो । ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली यसपटक गत संस्करणको प्रदर्शनमा सुधार गर्दै उपाधि जित्ने अभियानमा छ ।

पहिलो संस्करणको एलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएको चितवन राइनोज पनि मिनी अक्सनमा भाग्यमानी बन्यो । उसले पनि लक्की ड्रमार्फत आफूले खोजेको केही खेलाडी भित्र्यायो ।

कुशल मल्ल मार्की प्लेयर रहेको चितवनले अक्सनमार्फत देव खनाल, अर्जुन साउद, विपिन रावल, विपिन आचार्य र रन्जित कुमारलाई अनुबन्ध गर्‍यो । चितवनले यसअघि कुशलसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसीलाई रिटेन गरिसकेको थियो ।  

मिनी अक्सनमा लुम्बिनी लायन्स पनि केही हदसम्म सफल रह्यो । उसले अक्सनमार्फत दिलिप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता र आदिल खानलाई अनुबन्ध गर्‍यो ।

लुम्बिनीले कप्तान रोहितकुमार पौडेलसँगै सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारीलाई अक्निअघि रिटेन गरेको थियो । गत सिजनमा पुछारमा रहेको लुम्बिनी यसपालि त्यो स्थान सुधार गर्दै उपाधि जित्ने लक्ष्यमा छ ।   

यस्तै, डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स उपाधि रक्षा गर्ने योजनामा हुनेछ । यद्यपि मिनी अक्सनमा भने ऊ त्यति सफल देखिएन । जनकपुरले अक्सनमार्फत सचिन भट्ट, आदित्य महता, मयन यादव र विकाश आग्रीलाई अनुबन्ध गर्‍यो ।

जनकपुरले अक्सनअघि आसिफ शेख, अनिलकुमार साह, शुभ कंसाकार, किशोर महतो, ललितनारायण राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंहसहित सर्वाधिक सात खेलाडीलाई रिटेन गरेको थियो । 

त्यस्तै, गत संस्करण उपविजेता सुदूरपश्चिम रोयल्स पनि मिनी अक्सनको लक्की ड्रमा त्यति सफल देखिएन । उसले अक्नसनमार्फत हेमन्त धामी, टेकबहादुर रावत, दीपेन्द्र थापा, दीपक बोहरा र मिलन बोहरालाई अनुबन्ध गर्‍यो ।

सुदूरपश्चिमले आफ्नै प्रदेशका पाँच खेलाडीलाई भित्र्याएको हो । उसले अक्सनअघि कप्तान दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद रिटेन गरेको थियो । सुदूरपश्चिम गत फाइनलको हार बिर्सिँदै यसपालि पहिलोपटक उपाधि जित्ने अभियानमा छ ।  

यस्तै, सन्दीप लामिछाने नेतृत्वको विराटनगर किङ्सले अक्सनमार्फत युवा खेलाडीलाई भित्र्याएको छ । उसले सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, शर्वन किस्कु र शंकर रानालाई अनुबन्ध गरेको हो ।

विराटनगरले अक्सनअघि सन्दीपसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको थियो । गत सिजनको एनपिएल छैटौँ स्थानमा टुंग्याएको विराटनगर यसपालि सुधारिएको प्रदर्शन गर्दै च्याम्पियन बन्ने योजनामा छ । 

एनपिएल मिनी अक्सनमा पोखरा एभेन्जर्स त्यति सफल देखिएन । उसले अक्सनमार्फत अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्रीलाई अनुबन्ध गर्यो । गत सिजनमा खराब प्रदर्शन गरे पनि पोखराले अक्सनअघि सात खेलाडी रिटेन गरेको थियो ।

उसले कुशल भुर्तेल, दिनेश खरेल, विपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द र तृतराज दासलाई रिटेन गरेको हो । गत संस्करण सातौं स्थानमा टुंग्याएको पोखराले आसन्न एनपिएलमा उपाधि जित्ने योजना बनाएको छ ।

मिनी अक्सन सम्पन्नसँगै अब टिमहरू विदेशी खेलाडी अनुबन्धको प्रक्रिया अघि बढाउने छन् । विदेशी खेलाडी भित्र्याउन क्यानले टोलीहरूलाई नै जिम्मेवारी दिएको छ । दोस्रो सिजनको एनपिएल नोभेम्बरमा हुनेछ । 

  • प्रकाशित मिति : २५ साउन, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया