दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया १७ रनले विजयी भएको छ ।
आइतबार डार्विनस्थित मरेरा ओभलमा सम्पन्न पहिलो खेलमा अस्ट्रेलियाले दिएको १७९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १६१ रन बनायो ।
उसका ओपनर रायन रिकल्टनले ५५ बलमा सात चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ७१ रन बनाए । साथै, ट्रिस्टन स्टब्सले २७ बलमा ३७ र लुअन टर प्रिट्रोरियसले १४ रन जोडे ।
अस्ट्रेलियाका बेन ड्वारशुस र जोस हेजलवुडले तीन/तीन विकेट लिए भने एडम जाम्पा र ग्लेन म्याक्सवेलले क्रमशः दुई र एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा १७८ रन बनायो । उसका लागि टिम डेविडले ५२ बलमा ४ चौका र ८ छक्कासहित सर्वाधिक ८३ रन बनाए ।

८ ओभरमा ६ विकेट गुमाएको अस्ट्रेलियाका लागि डेविड र बेन ड्वारशुसले ४२ बलमा ५९ रनको महत्वपूर्ण साझेदारी गरे । ड्वारशुस १९ बलमा १७ रनमा आउट भए भने क्यामरुन ग्रिनले १३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३५ रन बनाए ।
कप्तान मिचेल मार्शले १३ र नाथन एलिसले १२ रनमा आफ्नो विकेट गुमाए । दक्षिण अफ्रिकाका क्विनी मफाकाले सर्वाधिक चार विकेट लिए । अफ्रिका र अस्ट्रेलियाबीचको तेस्रो खेल मङ्गलबार हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।