क्रिस्टल प्यालेसले प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हराउँदै कम्युनिटी शिल्ड आफ्नो नाममा पारेको छ ।
इङ्लिस शीर्षस्तरीय लिगको नयाँ सिजनको ‘कर्टेन–रेजर’ मानिने यो खेल निर्धारित ९० मिनेटपछि २–२ को बराबरीमा टुंगिएको थियो । एफए कप विजेता प्यालेसले उत्कृष्ट पुनरागमन गर्यो ।
प्यालेसका गोलकिपर डिन हेन्डरसन निर्णायकरूपमा उदाउँदै दुई पेनाल्टी रोक्न सफल भए । लिभरपुलका स्टार मोहम्मद सालाहले आफ्नो प्रहार क्रसबारमाथि पठाए भने जस्टिन डेभेनीले टप–कर्नरमा सटीक प्रहार गर्दै प्यालेसलाई उपाधि दिलाउने अन्तिम पेनाल्टी सफल बनाए ।
लिभरपुलले खेलको चौथो मिनेटमा नयाँ साइनिङ हुगो एकिटिकेको गोल र २१औँ मिनेटमा जेरेमी फ्रिम्पोङको गोलमार्फत दुई पटक अग्रता लिएको थियो । तर, १७औँ मिनेटमा जा–फिलिप माटेटाले पेनाल्टीमार्फत गोल गर्दै अन्तर घटाए ।
त्यसपछि ७७औँ मिनेटमा इस्माइला सारले नजिकबाट गोल गर्दै खेल बराबरीमा ल्याए । यो जितसँगै प्यालेसले आफ्नो इतिहासमा पहिलोपटक कम्युनिटी शिल्ड जितेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।