२५ देशको बाइक यात्रामा निस्किएका भारतीय ‘बाईकिङ क्विन्स’ लाई काठमाडौंमा स्वागत

काठमाडौं– २५ देशको यात्रामा निस्किएका ‘बाइकिङ क्विन्स’ को नामले चिनिने तीन भारतीय महिला बाइकर्सहरूलाई आज काठमाडौंमा स्वागत तथा सम्मान गरिएको छ । ‘वुमेन्स प्राईड’ नामक सन्देश बोकेर उनीहरु तीन महादेशको यात्रामा निस्किएका हुन् । 

उक्त ग्रुपकी संस्थापक डा.सारिका मेहता र उनका साथीहरु बाइक राइडर्सद्वय जिनाल साह र रुतली पटेलले ९० दिनमा २५ राष्ट्रमा २५ हजार किलोमिटरको यात्रा गर्नेछन् । बुधबार भारतबाट सुरु भएको उक्त यात्रा लण्डमा पुगेर समापन हुनेपनि उनीहरुले जानकारी दिए । उक्त यात्राको समापन भने आगामी अगष्टको २६ तारिखमा हुनेछ । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा उनीहरुको स्वागत तथा सम्मानमा देव भूमिको प्रायोजनमा वातावरण जिउने आधार र कर्मशिल समाज नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उनीहरूलाई साहसिक यात्राको लागि शुभकामना दिए । 

मन्त्री विश्वकर्माले भने, ‘म तपाईंहरूलाई नेपालमा स्वागत गर्न चाहन्छु, तपाईहरुको यो साहसिक यात्राको लागि पनि हार्दिक शुभकामना दिन चाहन्छु । तपाईहरू महिला सशक्तिकरणको लागि महत्वपूर्ण सन्देश बोकेर यो साहसिक यात्रामा अघि बढ्नुभएको छ । यो पूरा विश्वको लागि नै गर्वको विषय हो ।’

कार्यक्रममा उक्त साहसिक यात्राको नेतृत्व गरेकी डा. मेहताले आफूहरुले पूरा यात्राको दौरान महिला सशक्तिकरणको सन्देश फैलाउने विश्वास गरिन् । उनीहरु हिजोमात्रै नेपाल आइपुगेका हुन् । उनले भनिन्, ‘यदि हामी सक्छौं भने तपाई पनि सक्नुहुन्छ ।’

उनीहरू तीनै जनाले अब म्यानमारको यात्रा गर्नेछन् । त्यसपछि थाईल्याण्ड, लाओस, चीन, किजकिस्तान, उजवेकस्तान, काजाखस्तान, रसिया, लाटभिया, लिथुनिया, बेलारुस, पोल्याण्ड, जर्मनी, अष्ट्रिया, फ्रान्स, मोरोक्को र अन्य देशहरूको यात्रा गर्ने कार्यक्रम छ । उनीहरूले प्रत्येक दिन ५ सय किलोमिटरको यात्रा गर्नेछन् । 



मेहताले आफूहरू यात्राको दौरान आईपर्ने जस्तोसुकै चूनौतिहरुको पनि सामना गर्न तयार रहेको सुनाइन् । उनले भनिन्, ‘हामी सुरक्षित रुपमा फर्कने विश्वासका साथ अघि बढेका छौं ।’ आफूहरुले यो यात्राको लागि एक वर्षदेखि तयारी गरेको पनि उनले जनाइन् । 

उनीहरूले भारत सरकारको ‘बेटी बचाओ, बेटी पढाओ’ अभियानको पनि सन्देश विश्वभरि फैलाउने उद्देश्यसहित यो साहसिक यात्रा गर्नेछन् । डा. मेहताकाअनुसार उनीहररूले सन् २०१६ मा पनि विभिन्न दश देशको भ्रमण गरिसकेका छन् । त्यतिवेला उनीहले भारतबाट यात्रा सुरु गरेर श्रीलंकामा पुगी समापन गरेका थिए । 



  • प्रकाशित मिति : जेठ २५, २०७६ शनिबार ८:१३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया