नेपालको महिला यू–२० फुटबल टोलीले यसपटकको एएफसी एसियन कप छनोटमा पनि आशाअनुरूप प्रदर्शन गर्न सकेन ।
प्रतियोगितामा नेपालले समूह चरणको दोस्रो स्थान हासिल गरी उत्कृष्ट उपविजेताका रूपमा एसियन कपको यात्रा तय गर्ने लक्ष्य राखेको थियो । तर, प्रारम्भिक खेलदेखि निराशाजनक प्रदर्शन र अन्तिम प्रतिस्पर्धामा भोगेको ठूलो हारले नेपाली टोलीको त्यो सपना फेरि अधुरै रह्यो ।
प्रतियोगितामा नेपालको पहिलो भिडन्त आयोजक भुटानसँग भयो, जहाँ अपेक्षाअनुसार सहज जित निकाल्ने सोचिए पनि नेपालले आशाअनुरूको प्रदर्शन गर्न सकेन ।

विगतमा भुटानसँग सहज जित निकाल्ने गरेको इतिहासका कारण यस खेललाई पनि नेपालले सहजरूपमा जित्ने आकलन गरिएको थियो । तर, १–१ को बराबरीको परिणामले नेपाली फुटबल प्रेमी चकित परे ।
यो नतिजाले नेपाली टोलीको तयारी र सामूहिक प्रदर्शनमाथि गम्भीर प्रश्न उठायो । यस बराबरीपछि नेपालका लागि प्रतियोगिता अझ चुनौतीपूर्ण बन्यो । दोस्रो खेलमा नेपालले नयाँ प्रतिद्वन्द्वी साउदी अरेबियाविरुद्ध १–० को साँघुरो जित निकाल्यो । साउदीसँग नेपालको त्यो पहिलो भेट थियो ।
पहिलो भेटमै जित निकाले पनि नेपालका लागि त्यो खेल स्मरणयोग्य भने बन्न सकेन । दुई म्याचमा अपेक्षित प्रदर्शन नगरेपछि नेपालका लागि एसियन कप छनोट सम्भावना कमजोर बन्यो ।
अन्तिम र निर्णायक खेलमा नेपालले पूर्वविजेता उत्तर कोरियालाई पराजित गर्नुपर्ने थियो । तर, त्यो खेलमा नेपालले प्रतिस्पर्धात्मक खेलसमेत देखाउन सकेन । तेस्रो खेलमा नेपाल ११–० ले पराजित भयो ।
नेपालको निराशाजनक प्रदर्शनका प्रमुख कारण देखिए- खेलाडीको अपर्याप्त तयारी, कमजोर रणनीति, अनुभवको कमी र व्यवस्थापनमा देखिएको कमजोरी । प्रशिक्षणका अवसर सीमित हुनु, अन्तर्राष्ट्रिय मञ्चका लागि आवश्यक तयारीको अभाव र खेलाडीको मानसिक तथा शारीरिकरूपमा प्रतिस्पर्धाको लागि तयार नहुनु मुख्य चुनौती हुन् ।

प्रशिक्षक तथा व्यवस्थापन पक्षले पनि रणनीति र खेल व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । नेपालका लागि यो असफलता केवल प्रतियोगिताबाट बाहिरिनु मात्र होइन, आगामी पुस्ताका खेलाडी र प्रशिक्षकका लागि पनि गम्भीर चेतावनी हो ।
खेलाडी विकास, प्रशिक्षण प्रणाली, खेल रणनीति र व्यवस्थापन पक्षमा सुधार आवश्यक छ । नेपालका छिमेकीहरू भारत र बंगलादेशले भने यस प्रतियोगितामा उल्लेखनीय सफलता प्राप्त गरे ।
भारतले समूह ‘डी’ अन्तर्गत म्यानमारलाई १–० ले हराउँदै २० वर्षपछि एसियन कपमा स्थान बनायो । तीन खेलमा ७ अंकसहित शीर्ष स्थान हासिल गर्दै भारतले आफ्नो समूह विजेताका रूपमा टुंगो लगायो । बंगलादेश उत्कृष्ट दोस्रो स्थान हासिल गरेर एसियन कपको टिकट पक्का गर्न सफल भयो ।
योसँगै एसियन कपमा पुग्ने १२ टोलीको टुंगो लागेको छ । यसपटक उत्तर कोरिया, भियतनाम, अस्ट्रेलिया, भारत, चीन, जापान, उज्बेकिस्तान र दक्षिण कोरिया समूह विजेताका रूपमा छनोट भएका छन् ।
यस्तै, जोर्डन, बंगलादेश र चाइनिज ताइपेईले उत्कृष्ट उपविजेताका रूपमा एसियन कपमा स्थान बनाए । थाइल्याण्ड आयोजकको रूपमा यसअघि नै छनोट भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।