१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

अलास्कामा ट्रम्प-पुटिन शिखर बैठक : भू-भाग साटासाट र शान्ति प्रयासको सम्भावना

आगामी शुक्रबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्का राज्यमा एक महत्वपूर्ण शिखर बैठक हुने भएको छ । यो सन् २०१५ पछि पहिलो पटक कुनै रुसी राष्ट्रपतिको अमेरिकामा औपचारिक भ्रमण हुनेछ ।


रुसी राष्ट्रपति कार्यालयका सल्लाहकार युरी उशाकोभले बैठकको स्थानको रूपमा अलास्का रोज्नु उचित रहेको व्यहोरा व्यक्त गरे । इतिहासमा पनि अलास्का रूसको अधीनमा रहेको क्षेत्र हो । सन् १८६७ मा आर्थिक चुनौतीका कारण रुसले यसलाई अमेरिकालाई हस्तान्तरण गरेको थियो ।



अलास्का उत्तर अमेरिकाको उत्तर–पश्चिमी भागमा अवस्थित छ, जो अमेरिकाको सबैभन्दा ठूलो भू-भाग हो । यसले आर्कटिक महासागर र प्रशान्त महासागरलाई जोड्दछ ।

अलास्काका राज्य प्रमुख माइक डनलीभीले यस क्षेत्रको राष्ट्रिय सुरक्षा, ऊर्जा स्रोत र आर्कटिक रणनीतिमा महत्वपूर्ण भूमिका रहेको बताउँदै यस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय बैठक अलास्कामा हुनु उपयुक्त रहेको धारणा व्यक्त गरे ।



बैठकको मुख्य एजेण्डा युक्रेन संकटको दिगो र स्थायी समाधानका उपायहरूमा केन्द्रित हुने अपेक्षा गरिएको छ । राष्ट्रपति ट्रम्पले केही भू-भाग साटासाटको सम्भावना रहेको संकेत गरेका छन् । अमेरिकाका विदेशमन्त्रीले युद्ध अन्त्यका लागि दुवै पक्षबीच समझदारी आवश्यक हुने बताएका छन् ।

अलास्का र छिमेकी आर्कटिक क्षेत्र प्राकृतिक स्रोतहरूले धनी क्षेत्रहरू हुन्, जहाँ तेल, ग्यास, सुन लगायतका बहुमूल्य स्रोत पाइन्छन् । यसका साथै यहाँका समुद्री मार्ग आर्थिक र रणनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण छन् । रुसी लगानी प्रमुख किरिल दिमित्रिएवले यस क्षेत्रमा वातावरण संरक्षण, पूर्वाधार र ऊर्जा विकासमा दुई देशबीच सहकार्यको राम्रो अवसर रहेको बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेंस्कीको बैठकमा सहभागिताको सम्भावना पनि रहेको छ, यद्यपि अहिलेसम्म यस विषयमा कुनै अन्तिम निर्णय भएको छैन । राष्ट्रपति ट्रम्पले पुटिनसँगको भेटका लागि जेलेंस्कीको उपस्थिति आवश्यक नभएको स्पष्ट पारेका छन् ।

राष्ट्रपति पुटिनले पनि युक्रेनी राष्ट्रपतिसँगको भेटमा आपत्ति नभएको तर हालको अवस्था अनुकूल नरहेको बताएका छन् । जेलेस्कीले भने कुनै पनि सम्झौतामा युक्रेनको पूर्ण सहभागिता आवश्यक रहेको र त्यसबिना गरिने निर्णय शान्तिका लागि बाधक हुने स्पष्टरूपमा व्यक्त गरेका छन् ।   



  • प्रकाशित मिति : २६ साउन, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया