अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार युद्धविराम अवधि ९० दिनका लागि थप्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
सोमबार वासिङ्टन र बेइजिङबीचको अस्थायी सम्झौताको समय सकिन केही घण्टा बाँकी रहँदा उनले चिनियाँ सामानमा उच्च भन्सार शुल्क पुनः लागू गर्ने निर्णयलाई स्थगित गरे । ह्वाइट हाउसका अनुसार, उच्च भन्सार शुल्क रोकिने म्याद अब नोभेम्बर १० सम्म रहनेछ ।
‘मैले भर्खरै एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु जसले चीनमाथिको भन्सार शुल्क निलम्बन अर्को ९० दिनका लागि विस्तार गर्नेछ,’ ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखे ।
यस वर्षको सुरुवातमा अमेरिका र चीनले एकअर्काका उत्पादनमा उच्च भन्सार शुल्क लगाएका थिए, जसले व्यापारमा ठूलो अवरोध सिर्जना गरेको थियो । मे महिनामा दुवै पक्ष अस्थायीरूपमा शुल्क घटाउने सहमतिमा पुगेका थिए । सो सहमतिअनुसार लागू भएको ९० दिने युद्धविराम मङ्गलबार समाप्त हुने तय थियो ।
ट्रम्पको आदेश सार्वजनिक भएको केही बेरमै चिनियाँ राज्य सञ्चार संस्था सिन्ह्वाले पनि आफ्नो पक्षबाट युद्धविराम अवधि ९० दिनका लागि थप्ने घोषणा गर्यो । स्टकहोममा सम्पन्न अमेरिका–चीन वार्तापछि जारी संयुक्त वक्तव्यमा चीनले अगस्ट १२ देखि १० प्रतिशत भन्सार दर कायम राख्दै अघिल्लो वृद्धि निलम्बन गर्ने बताएको छ ।
सिन्ह्वाका अनुसार यो कदम जेनेभा संयुक्त घोषणाअनुसार गैर–कर प्रतिकारात्मक उपायहरूलाई निलम्बन वा हटाउने प्रक्रियाको हिस्सा हुनेछ ।
ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित आदेशमा अमेरिकी प्रशासनले ‘ठूला र निरन्तर वार्षिक सामान व्यापार घाटा’लाई राष्ट्रिय सुरक्षा र अर्थतन्त्रका लागि ‘असामान्य र असाधारण खतरा’को रूपमा व्याख्या गरेको छ ।
आदेशले चीनसँगको आर्थिक सम्बन्धमा व्यापारिक पारस्परिकताको कमीलाई सम्बोधन गर्न वार्ता जारी रहेको र बेइजिङले अमेरिकी गुनासा समाधान गर्न ‘महत्त्वपूर्ण कदम चालिरहेको’ उल्लेख गरेको छ ।
९० दिनको यो विस्तारपछि अमेरिका–चीन व्यापार युद्धविराम नोभेम्बर १० को मध्यरातपछि समाप्त हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।