इजरायलको प्रसिद्ध ‘ग्यालिल सागर’ हालै अस्वाभाविकरूपमा रातो देखिएको छ । यो अनौठो दृश्य देखेपछि स्थानीयवासी र पर्यटकमा आशंका र त्रास फैलिएको थियो ।
प्रारम्भिक जाँचपछि वैज्ञानिक र अधिकारीहरूले यसको कारण प्राकृतिक भएको पुष्टि गरेका छन् ।
अनुसन्धानका क्रममा पानीको रंग परिवर्तनको मुख्य कारण बोट्रिओकोकस ब्राउनी नामक एक किसिमको हरियो शैवाल रहेको पत्ता लाग्यो । विश्वव्यापी तापक्रम वृद्धिका कारण सागरको सतहको तापक्रम बढ्दा यो सूक्ष्म शैवाल तीव्र गतिमा वृद्धि भइरहेको छ । जब यसमा सूर्यको किरण पर्छ, शैवालले रातो रंगद्रव्य उत्पादन गर्छ, जसका कारण पानी सतहमा रातो देखिन्छ ।
अधिकारीहरूले यो पानी मानिसका लागि हानिकारक नभएको स्पष्ट पारेका छन् । तर, शैवालको बाक्लोपनले सूर्यको प्रकाश सागरको गहिराइमा पुग्न नसक्ने भएकाले माछा र अन्य जलचरको बासस्थानमा दीर्घकालीन असर पर्न सक्ने चेतावनी दिएका छन् ।
विज्ञहरूका अनुसार यस्तो घटना पछिल्ला वर्षहरूमा विश्वभर बढ्दो क्रममा छ, जसलाई जलवायु परिवर्तनको प्रत्यक्ष परिणामका रूपमा लिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।