१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

काश्मिरमा भीषण बाढी : मृतकको संख्या ३७ पुग्यो, ३५ जनाको उद्धार

भारतको काश्मिर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको छ ।


स्थानीय प्रशासनका अनुसार, किष्टवार जिल्लामा बिहीबार बिहान एकाएक बादल फाटेर आएको बाढीमा परी कम्तीमा ३७ जनाको ज्यान गएको छ, भने दर्जनौं घाइते भएका छन् ।



‘समाचार अत्यन्तै पीडादायक छ,’ काश्मिरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले विज्ञप्तिमा उल्लेख गर्दै किष्टवारमा तीव्र वर्षाका कारण ठूलो क्षति पुगेको जानकारी दिए । 

बाढीबाट प्रभावित व्यक्तिहरूलाई उद्धार गर्न प्रयास जारी छ । किष्टवारका जिल्ला आयुक्त पंकज कुमार शर्माले भने, ‘हामीले हालसम्म ३७ शव फेला पारिसकेका छौँ र ३५ जना घाइतेको उद्धार गरिएको छ । अझै पनि केही व्यक्ति हराइरहेका छन् ।’



नजिकैको अथोली गाउँका एक स्थानीय बासिन्दा सुशील कुमारले एएफपीसँगको कुराकानीमा भने, ‘मैले आफ्नै आँखाले १५ जना मृतकहरूलाई अस्पतालमा ल्याइएको देखेँ ।’

प्राकृतिक प्रकोपपछि उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ । बाढीपछिका निरन्तर वर्षाले बाटो ध्वस्त बनाएका छन् । घटनास्थल श्रिनगरबाट झण्डै २०० किलोमिटर टाढा रहेको कारण पनि उद्धार टोली पुग्न कठिन भइरहेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पीडितप्रति समवेदना व्यक्त गर्दै भनेका छन्, ‘संकटको घडीमा पीडितहरूलाई सबै प्रकारको सहयोग प्रदान गरिनेछ ।’

यसअघि ५ अगस्टमा उत्तराखण्ड राज्यको धाराली गाउँमा पनि बाढी र पहिरोको कारण ठूलो विनाश भएको थियो, जसमा ७० भन्दा बढीको ज्यान गएको आशंका गरिएको छ ।



प्रत्येक वर्ष मनसुनको समयमा भारतमा बाढी, पहिरो र वर्षा जन्य विपद् सामान्यझैँ देखिन्छन् । तर, विज्ञहरूका अनुसार जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण यस्ता घटना पहिलेभन्दा धेरै गम्भीर र बारम्बार हुने गरेका छन् । 

  • प्रकाशित मिति : २९ साउन, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया