१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

ट्रम्प-पुटिन भेट : भएन ठोस सहमति, तर ‘प्रगति’ भएको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच अलास्कामा भएको उच्चस्तरीय भेटवार्ता कुनै ठोस सम्झौताबिनै टुंगिएको छ । तर दुवै नेताले युक्रेन युद्ध अन्त्यतर्फ केही ‘प्रगति’ भएको दाबी भने गरेका छन् ।


अलास्कामा भएको करिब तीन घण्टे वार्तापछि दुवै नेता करिब १० मिनेटसम्म संयुक्त रूपमा पत्रकारहरूमाझ देखिए। तर उनीहरूले प्रश्नहरू नलिएर केवल संक्षिप्त वक्तव्यमात्रै दिए।



ट्रम्पले वार्तालाई ‘अत्यन्तै सकारात्मक’ भने पनि ठोस निष्कर्षमा पुग्न नसकेको जनाए । उनले भने, ‘धेरै बुँदामा सहमति भएको छ तर केही ठूला बुँदा बाँकी छन् ।’ उनले बाँकी रहेका विवादित मुद्दाबारे खुलासा गरेनन् तर चाँडै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग टेलिफोन वार्ता गर्ने बताए। ‘अन्ततः निर्णय गर्ने जिम्मा उनीहरुकै काँधमा छ,’ उनले थपे ।

पुटिनले भने आफू ‘सत्यनिष्ठ भएर’ युद्ध अन्त्य गर्न चाहेको बताए। उनले युक्रेन द्वन्द्वलाई ठूलो ‘त्रासदी’का रूपमा चित्रण गर्दै यसको ‘मूल कारणहरू हटाउनुपर्ने’ औंल्याए। युरोपेली मुलुक र युक्रेनलाई वार्ता भंग नगर्न चेतावनी दिँदै उनले यो भेटवार्तालाई समाधानको ‘सुरुआती बिन्दु’ को रूपमा व्याख्या गरे।



सार्वजनिक उपस्थितिमा दुवै नेताले आत्मीयता देखाएका दृश्यहरू पनि चर्चित बनेका छन्—पुटिनलाई ट्रम्पको लिमोसिनमा सँगै यात्रा गरिनु, रातो कार्पेटमा स्वागत र हात मिलाउँदै गरिएको ‘शो अफ युनिटी’। अन्त्यमा पुटिनले ‘अर्को पटक मस्कोमा भेटौँ’ भने भने, ट्रम्पले पनि चाँडै फेरि भेट हुने संकेत गरे।

तर, विदेशी मिडियाहरूले यो बैठकलाई मिश्रित तरिकाले मूल्याङ्कन गरेका छन्। रोयटर्सले वार्तालाई ‘सार्थक तर अधुरो’ भनेको छ । द गार्जियनले ट्रम्पले जेलेन्स्कीलाई सम्झौता गर्न सुझाएको उल्लेख गर्दै यसलाई विवादास्पद बताएको छ। टाइमले भने यस्तो भेटवार्ताले युद्धको वास्तविकता नबद्लिने दाबी गर्दै पुटिनको रणनीति युक्रेनको सार्वभौमिकता कमजोर पार्नेमा केन्द्रित भएको टिप्पणी गरेको छ। वाशिंगटन पोस्टका अनुसार, युक्रेनको उपस्थितिबिना भएको वार्ताले पश्चिमी गठबन्धनमै असहजता र विभाजन देखाएको छ।

यसरी, अलास्काको यो शिखर वार्ताले ठोस परिणाम ननिकाले पनि राजनीतिक रूपमा महत्वपूर्ण संकेत दिएको छ। अमेरिका र रुसबीच सीधा संवाद पुनः सुरु हुनु ठूलो कूटनीतिक घटनाक्रमका रूपमा हेरिएको छ। तर आलोचकहरू भने युक्रेनको आवाजबिनाको कुनै सम्झौता दीर्घकालीन शान्तिको आधार बन्न नसक्ने बताउँछन् ।  



  • प्रकाशित मिति : ३१ साउन, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया