२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

राजनीतिमा किन ओझेल पर्नुभयो बाबुरामजी ?

डा. बाबुराम भट्टराईको चिनारी अनेक छन् । प्रधानमन्त्री समेत भइसकेका बाबुरामम अहिले पनि एसएलसीको बोर्ड फस्टका नामले परिचित छन् । एसएलसी बोर्ड स्थापना भएदेखि अहिले एसईई हुँदासम्म कोही न कोही ‘टपर’ भएकै छन् । तर ती सबै मध्ये केहीको नाम बेला बेला चर्चामा रहँदा बाबुरामको नाम भने सदाबहार एसएलसीको बोर्ड टपरका नामले परिचित छ । त्यही एसएलसीको बोर्ड टपर भएका कारण उनलाई विद्धान भन्ने गरिन्छ । 


बाबुराममा ज्ञानको जति विशालता छ, उनको व्यक्तिगत जीवन पनि त्यति नै सरल मानिन्छ । १० वर्षे सशस्त्र क्रान्ति गरेर आएका बाबुराम एकपटक अर्थमन्त्री बने, एकपटक प्रधानमन्त्री बने त्यसयता लाभको पदमा नरहे पनि निरन्तर चर्चामा रहेका छन् । 



अहिलेका पूर्वप्रधानमन्त्रीहरुमध्ये सरलता र जनतासँगको घुलमिलको हिसावले बाबुराम अघि छन् । आफ्नो निर्वाचन क्षेत्र समेत रहेको आफ्नो गृहजिल्ला गोरखा निरन्तर गइरहन्छन् । मासिक रुपमा कार्यतालिका नै बनाएर उनी गोरखा पुग्छन् । 

आफ्नै पुख्र्यौली घरमा बस्छन्, पढ्छन्, गाउँले अझ आफ्ना बालसखाहरुसँग गफिन्छन् । धेरै नबोल्ने र नहास्ने नेता भनेर पहिचान बनाएका उनी आफ्ना बालसखासँग भने मज्जैले गफिन्छन्, हास्छन्, ठट्टा पनि सुनिन्छ । 



राजनीतिमा ठूलो योगदान पुर्याएका बाबुराम माओवादी छाडेपछि अस्थिर बने । संविधान जारी भएपछि वैकल्पिक राजनीतिक धार जन्माउन हिँडेका बाबुरामसँग अहिले आफ्नै नेतृत्वको पार्टी त छ, तर उनको अस्थिर राजनीतिक चरित्रले पुनः त्यो पनि कुन पार्टीसँग मिसिने हो भन्ने समेत शंका गरिन्छ ।  

केही दिनअघि बाबुराम सेड्युल अनुसार आफ्नै गाउँ पुग्छन् । त्यहाँ रहेका आफ्ना केही बालसखा, केही आफ्ना विद्यार्थीहरु समेत भेट्छन् । 

भेटमा रहेका एकजनाले आफूहरु विद्यार्थी कालमा एउटै कोठामा बसेको सुनाए । साथै आफूले भात पकाएर खुवाएको भन्दै बाबुरामलाई हौस्याए । सहपाठी र आफ्ना केही विद्याथीहरुसँग गफिँदा बाबुराम पनि मख्ख थिए । त्यसैक्रममा बाबुरामले आफूहरुले पालैपालो भात पकाउने भन्दै ठट्टा गरे । 

सोही क्रममा एक जना विद्यार्थीले आफूलाई ६ कक्षामा अंग्रेजी पढाएको भन्दै पुराना दिन स्मरण गराए । साथै एक सहपाठीले बाबुरामलाई रवि लामिछानेलाई जेलमा भेट्न गएको प्रशंग सुनाए । सो क्रममा बाबुरामले आफूले सबैप्रति सद्भाव राख्ने सुनाए । साथै सोही क्रममा उनले आफूले पञ्चायत कालमा पनि सबै पार्टीमा आस्था राख्नेहरुलाई भेट्ने गरेको भन्दै सबैप्रति आफ्नो सम्मान रहने बताए ।



कुराकै प्रशंगमा एकजना बालसखाले प्रश्न गरे, ‘...तर तपाईँ यति विद्धान मान्छे अलि ओझेलमा चाँही पर्नुभयो क्या !’ 

त्यसपछि बाबुराम केही गम्भीर बने त्यहाँको हासिमजाकको माहोल एकैछिनका लागि केही शान्त जस्तो बन्यो । 

बाबुरामले त्यसको घुमाउरो उत्तर दिँदै भने, ‘ओझेल त के ओझेल पर्नु र ! चर्को घामले पनि त पोल्छ नि त्यही भएर छहारीमा बस्नुपर्छ नि ।’

ती प्रश्नकर्ताले देशको लागि चाहिने मान्छे भएकाले ओझेलमा परेको जस्तो भान भएको सुनाए । साथै आफ्नो निर्वाचन क्षेत्रको मान्छे भएकाले आफूहरुले सो प्रश्न गरेको सुनाए । त्यसमा घुमाउरो उत्तर दिँदै अन्य कुरामा हाँसिमजाक गर्दै बाबुराम त्यहाँबाट हिँडे । 

फुर्सदको समयमा काठमाडौं भन्दा बाहिर अझ धेरैजसो आफ्नो गृहजिल्ला गोरखामा नै बस्न रुचाउने बाबुरामका लागि यो आम प्रश्न हो । त्यो बेलाको एसएलसीको बोर्ड टपर भनेर कहलिएका कारण अहिलेसम्म विद्धानको ‘ट्याग’ पाएका बाबुराम खै के कारणले अस्थिर बने त्यो उनैले जान्ने कुरा हो !

  • प्रकाशित मिति : १ भदौ, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया