भारतीय विदेशसचिव विक्रम मिस्री यतिबेला काठमाडौंमा छन् । आइतबार दुईदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका मिस्रीले भ्रमणको पहिलो दिन नै उच्चस्तरीय भेटवार्ता सम्पन्न गरिसकेका छन् ।
उनले राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेतासँग भेटवार्ता गरेका हुन् । आइतबार मिस्रीले सबैभन्दा पहिले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे ।
सिंहदरबारमा प्रधानमन्त्रीसँग भेट गरेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न उनी शीतल निवास पुगे । त्यसपछि विदेशसचिव मिस्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।
त्यहाँबाट उनी प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न प्रचण्ड खुमलटार हानिए । छोटो समयमा प्रायः सबै ठूला नेता भेट्न उनलाई समय लागेन ।
कूटनीतिक भेटवार्तामा आसन र पहिरनको विशिष्ट महत्त्व हुन्छ । लुगादेखि जुत्ताको रङसम्मले विशेष अर्थ राख्छ । अझ त्यसमाथि शारीरिक भावभङ्गीको कूटनीतिक भेटघाटमा विशेष महत्त्व हुन्छ ।
योपटक भारतीय विदेश सचिव मिस्री भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गर्न सिंहदरबार पुगेका थिए । तर, प्रधानमन्त्री ओलीसँगको भेटमा उनको आसन भने अशोभनीय देखियो ।
उनले प्रधानमन्त्री ओलीको अगाडि उपरखुट्टी लगाएर भारत भ्रमणको निम्ता दिए । त्यो कूटनीतिक मर्यादाविपरीत थियो । जसको आज दिनभर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
प्रधानमन्त्री ओली भदौ अन्तिम सातासम्म भारत भ्रमणमा जाने बताइए पनि भ्रमण मिति औपचारिकरूपमा सार्वजनिक भने भइसकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।