रुस–युक्रेन युद्ध अन्त्य गर्ने कुरा फेरि एकपटक अमेरिकी राजधानी वासिङ्टनको केन्द्रमा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको हालैको शिखर वार्ताले ठोस परिणाम निकाल्न नसकेपछि अब युरोपेली नेताहरू सामूहिकरूपमा वासिङ्टनतर्फ लागेका छन् ।
उनीहरूको उद्देश्य स्पष्ट छ, युक्रेनलाई समर्थनमा उभ्याउने र ट्रम्पलाई युद्धविरामभन्दा टाढा, स्थायी शान्तिको बाटोमा अघि बढाउन दबाब दिनु । ट्रम्प स्वयंले पुटिनसँगको वार्तापछि ‘तत्काल युद्धविराम असम्भव छ’ भनेर टिप्पणी गरेका छन् । अझै चर्को कुरा त उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘युद्धविरामका सम्झौताहरू अक्सर टिक्दैनन् ।’ यसले ट्रम्पको सोच कता झुकेको छ भन्ने संकेत दिन्छ ।
यता युरोपेली नेताहरू बेलायतका प्रधानमन्त्री केइर स्टार्मरदेखि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनी, फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टब्स हुँदै नेटो महासचिव मार्क रुट र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन सबै वासिङ्टन पुग्दै छन् ।
वासिङ्टनमा हुने यो भेटवार्ता शान्तिको बाटो खोल्ने निर्णायक मोड बन्न सक्ने सम्भावना छ । तर, त्यति नै खतरा पनि छ । यदि ट्रम्पले पुटिनसँगको संवादलाई मात्रै प्राथमिकता दिएर युरोपेली नेताहरूको आग्रहलाई बेवास्ता गरे, शान्तिको सम्भावना अझ टाढिन सक्छ ।
उनीहरूको साझा सन्देश हो, ‘युद्ध रोक्न आवश्यक कदम अब अमेरिकाले नै चाल्नुपर्छ ।’ तर, वास्तविकता पुटिनले अघिल्ला दिनमा देखाएको अडानले युरोपलाई झन् असहज बनाएको छ । जेलेन्स्की स्वयंले मस्कोलाई ‘सरल आदेश दिएर आक्रमण रोक्न सक्ने’ तर इच्छाशक्ति नदेखाएको भन्दै कडा आलोचना गरेका छन् । यो अभिव्यक्तिले पुटिनप्रतिको शंका मात्र होइन, वासिङ्टनमा हुने उच्चस्तरीय छलफलको अपेक्षालाई पनि जटिल बनाइदिएको छ ।
जर्मनीले ‘द्रुत शान्ति सम्झौता’ को आवश्यकतामा जोड दिएको छ । तर, युद्धको मैदानमा अझै पनि रुसको पकड बलियो भइरहेको छ । यही कारण विश्लेषकले यस भ्रमणलाई ‘आवश्यक तर अपूरो प्रयास’ को रूपमा हेरेका छन् ।
वासिङ्टनमा हुने यो भेटवार्ता शान्तिको बाटो खोल्ने निर्णायक मोड बन्न सक्ने सम्भावना छ । तर, त्यति नै खतरा पनि छ । यदि ट्रम्पले पुटिनसँगको संवादलाई मात्रै प्राथमिकता दिएर युरोपेली नेताहरूको आग्रहलाई बेवास्ता गरे, शान्तिको सम्भावना अझ टाढिन सक्छ ।
यसरी हेर्दा युक्रेन युद्ध केवल पूर्वी युरोपको संकट नभएर आजको भू–राजनीतिक शक्ति–सन्तुलनको वास्तविक परिक्षण बनेको छ । वासिङ्टनमा ट्रम्प–जेलेन्स्की–युरोपेली नेताहरूको भेटवार्ता त्यसैको अर्को अध्याय हो । तर, यो अध्यायले युद्ध अन्त्यतर्फ मोडिन्छ वा फेरि अन्धकारतर्फ त्यो अझै अनिश्चित छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।