२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

कच्चा कूटनीति कि मिस्रीको सङ्केत ?

कूटनीतिक भेटवार्तामा आसन र पहिरनले महत्त्वपूर्ण सन्देश दिन्छ । लुगादेखि जुत्ताको रङसम्मले विशेष अर्थ राख्छ । अझ त्यसमाथि शारीरिक भावभङ्गीको कूटनीतिक भेटघाटमा विशेष अर्थ हुन्छ । 


अन्तर्राष्ट्रिय कूटनीतिमा नेताहरूको हाउभाउ र आसनलाई पनि राजनीतिक सङ्केतका रूपमा लिइन्छ । कतिपय अवस्थामा त्यही भावभङ्गीले मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाइ दिन्छ भने, कतिपय अवस्थामा त्यही दृश्यले अनावश्यक विवाद र असहजता निम्त्याउन सक्छ ।



यस्तै एक प्रसङ्ग हालै सिंहदरबारमा देखियो । आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा उनका विदेशसचिव विक्रम मिस्री काठमाडौं आए । उद्देश्य थियो– भारतीय प्रधानमन्त्रीको निमन्त्रणा पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्ने । तर, पत्र हस्तान्तरणको औपचारिक क्षणभन्दा बढी चर्चा चल्यो–विदेश सचिवको आसनबारे ।

प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष भेटवार्तामा उनी उपरखुट्टी लगाएर बसेको दृश्य सार्वजनिक भयो । सामान्य भेटघाटमा यस्ता आसन सामान्य मानिए पनि कूटनीतिक प्रोटोकलमा यसलाई असहज र असभ्य सङ्केतका रूपमा लिइन्छ । विशेष गरी, जब दुई राष्ट्रका उच्च प्रतिनिधि आमनेसामने हुन्छन्, त्यति बेला बस्ने शैलीले सम्मान, इज्जत र संवेदनशीलताको सूचक दिनुपर्ने हुन्छ ।



अन्तर्राष्ट्रिय अभ्यासमा,प्रोटोकल अधिकारीहरूले नेताहरूलाई भेटघाटअघि आसन–भाषण–शारीरिक हाउभाउसम्मबारे ब्रीफिङ दिने चलनसमेत हुन्छ । भेटवार्तामा कसरी बस्ने, कसरी धन्यवाद व्यक्त गर्ने, हात मिलाउँदा कस्तो दूरी राख्नेजस्ता सामान्य तर देखिने कुराहरूको सूक्ष्मरुपमा ध्यान दिइन्छ ।

आइतबार दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका मिस्रीले भ्रमणको पहिलो दिन नै उच्चस्तरीय भेटवार्ता सम्पन्न गरे । उनले राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेतासँग भेटवार्ता गरेका हुन् । आइतबार मिस्रीले सबैभन्दा पहिले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे ।

पहिलो भेटमै प्रधानमन्त्रीसँगको तस्बिरले उनको आलोचना सुरु भयो । किनकि प्रधानमन्त्री ओलीसँगको भेटमा उनको आसन अशोभनीय देखिएको थियो । उनले प्रधानमन्त्री ओलीको अगाडि उपरखुट्टी लगाएर भारत भ्रमणको निम्ता दिए । जो कूटनीतिक मर्यादा विपरीत थियो । 

यसपछि राष्ट्रपति रामचन्द्र पौडेलदेखि प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डसम्म तथा सत्ता सहयात्री कांग्रेस सभापति शेरबहादुर देउवादेखि परराष्ट्रमन्त्री आरजु देउवासम्मका विषिष्टहरूसँग भेटेका मिस्रीको आसन भने सामान्य देखियो । देशको कार्यकारी प्रमुखसँगको उनको उपरखुट्टी आसनले भने चर्चा र आलोचना दुवै पायो । 



दक्षिणको छिमेकी राष्ट्र भारतका प्रतिनिधिले नेपालका प्रधानमन्त्रीसँगको भेटमा यस्ता ‘अनुचित’ हाउभाउ देखाउँदा सम्बन्धको संवेदनशीलता,बराबरीको भाव र परस्पर सम्मानको प्रश्न उठिरहेको हो । प्रधानमन्त्री निकट मानिने एमाले नेता महेश बस्नेतले नै मिस्रीको आसनबारे आपत्ति जनाएका छन् । 

हाम्रो संस्कृति र कूटनीतिक शिष्टाचारमा यसलाई सम्मानजनक व्यवहार नमानिने बताउँदै उनले प्रधानमन्त्री वा राष्ट्रप्रमुखसँग भेट्दा संयमित आसन, सम्मानयुक्त भंगिमा र मर्यादित व्यवहार अपेक्षित हुने बताएका छन् ।

उनले व्यक्तिगत सहजता देखिए पनि यस्तो दृश्यले राष्ट्र र पदको गरिमा कमजोर बनाउनेसमेत उल्लेख गरेका छन् । ओली निकटकै व्यक्तिले यसरी आलोचना गर्नुलाई स्वयम ओलीकै असन्तुष्टिका रूपमा पनि विश्लेषण भइरहेका छन् । 

कतिपयले भने यसलाई सामान्य भूल भनिरहेका छन् । तर, पनि यो प्रोटोकलको दृष्टिले अशोभनीय भएको दुई मत छैन । किनकि, कूटनीतिक अभ्यासमा आसनको अनुशासन केवल शिष्टाचार होइन, बरु समग्र राष्ट्रप्रतिको दृष्टिकोण झल्काउने प्रतीकको रूपमा रहन्छ । 

  • प्रकाशित मिति : २ भदौ, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया