२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

राप्रपा र राजावादीसँग किन बिरक्तिए दुर्गा प्रसाईँ ?

कुनै बेला पूर्वराजा ज्ञानेन्द्रलाई हातमा समातेर नारायणहिटी छिराउने धाक लगाउने मेडिकल व्यवसायी दुर्गा प्रसाईँ थकित बन्न पुगेका छन् । 


प्रसाईँले ०७९ साल फागुन १ गते मेची किनारबाट राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति तथा नागरिक बचाउ महाअभियानको शुभारम्भ गरेर राजावादी आन्दोलनलाई उचाइमा पुर्याउने अठोट गरेका थिए । सोही दिन पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सदस्यहरु समेत सार्वजनिक मञ्चमा सायद पहिलोपटक नै देखिएका थिए । त्यसअघि सार्वजनिक कार्यक्रमहरुमा कमै देखिने पूर्वराजा ज्ञानेन्द्र शाह प्रसाईँले आयोजना गरेको उक्त कार्यक्रममा उपस्थित भइ नागरिक अभिनन्दनमा सहभागि समेत भए । 



त्यसपछि ज्ञानेन्द्रसार्वजनिक समारोहरुमा निरन्तर सहभागि भइरहे । यता राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति तथा नागरिक बचाउ महाअभियान हाँकिरहेका प्रसाईँले काठमाडौंमा ठूलाठूला आन्दोलन गरे । त्यसको उदाहरणको रुपमा ०८० साल मंसिर ७ गते काठमाडौंको बल्खुमा भएको आन्दोलनलाई लिन सकिन्छ । प्रसाईँले गरेको उक्त आन्दोलन केवल मिटरव्याज पीडित, लघुवित्त पीडित र किसानको पक्षमा रहेको भनिएको थियो । त्यहाँ वर्तमान व्यवस्थाप्रति धावा बोल्नेहरुका लागि नयाँ मञ्च समेत बनेको थियो । पछि काठमाडौंका विभिन्न स्थानमा आन्दोलनहरु भए पनि प्रसाईँ सेलाए, उनको आन्दोलन पनि सेलायो । 

एकाएक ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा आन्दोलनको घोषणा गरियो । त्यसबेलासम्म प्रसाईँ एक्लै थिएनन् । त्यहाँ राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संस्थापन इतरका केही मुख्य नेताहरुको समेत साथ थियो । त्यसअघि ०८१ साल फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र पोखराबाट हवाई जहाजबाट काठमाडौं उत्रिए । 



त्यसबेला प्रसाईँ मुख्य भूमिकामा देखिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवाससम्म ज्ञानेन्द्रको हजारौँ नेपालीहरुको भीडबाट सवारी भएको थियो । त्यही स्वादले राजतन्त्र फर्काउने निर्णायक आन्दोलन गर्ने भन्दै मिति तोकियो, ०८१ साल चैत १५ गतेलाई । हिंसात्मक बनेको उक्त आन्दोलनले राजावादी, राजावादी दल र प्रसाईँको पछि लाग्नेहरुको कित्ताकाट गरिदियो । आन्दोलनको कमाण्डर तोकिएका प्रसाईँ आफैँ जेल परे, आन्दोलनमा सघाउने राप्रपाका नेताहरु जेल परे । प्रसाईँ लामो हिरासत बसाईपछि २ हप्ता अघि मात्रै धरौटीमा रिहा भए । उनी हिरासतमा हुँदा न उनलाई भेट्न राप्रपाका कोही नेता पुगे, न त उनीप्रति सदासयता नै देखाए । 

बरु राप्रपाले तीनकुने घटनाको सबै दोष उनै प्रसाईँलाई लगाउँदै आफूहरु पानीमाथिको ओभानो जस्तो देखियो । जब प्रसाईँ थुनामुक्त भए, त उनमा न पहिले जस्तो जोस बाँकी थियो, न त राजाप्रतिको सम्मान र राजतन्त्रप्रतिको लगाव नै । सोमबारको पत्रकार सम्मेलनले त्यही देखायो । प्रसाईँले पूर्वराजा, राप्रपा र राजावादी भन्नेहरुले आफूहरुलाई प्रयोग मात्रै गरेको भन्दै कटाक्ष गर्न पुगे । 

अझ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई ‘गाडी चोर’ को संज्ञा दिँदै कटाक्ष गर्न पुगे । त्यति मात्र होइन आफू न राजावादी, न राप्रपा रहेको स्पष्ट पारे । पूर्व राजाको तस्बिर अंकित ट्याटु छातिमा टाँसेका युवाहरुले नै चैत १५ को आन्दोलनलाई उग्र बनाएको आरोप समेत लगाए ।

‘आन्दोलन नै सिध्याउन खोजेको राजावादी र राप्रपाले हो । म राजावादी पनि होइन, राप्रपा पनि होइन,’ प्रसाईँले भने । 



प्रसाईँले आफूलाई अकबरे सुनको संज्ञा दिँदै आफूलाई सदुपयोग गर्न समेत आह्वान गरे । उनले आफूले अरुको दलबाट धोका पाएको बताउँदै आफ्नै पार्टी खोलेर नेतृत्व गर्ने उद्घोष समेत सोमबार नै गरेका छन् । 

‘म लगायत हाम्रो अभियान र अभियानका साथीहरुले राजनीतिक दल खोली राजनीतिमा संलग्न हुने अठोट गरेका छौँ,’ उनले भनेका छन्, ‘अब तपाईँहरुको अघि अकबरे सुन छ । पानी खानुस् घोटेर, पगालेर लगाउनुस्, के गरेर मलाई सदुपयोग गर्नुहुन्छ ।’ 

नयाँ दल खोलेर राजनीतिमा होमिने घोषणा प्रसाईँले गरेसँगै अब उनले राजावादी धार छाड्नेछन् भन्ने संकेत गरेको छ । जसले राजावादीहरुलाई धक्का त पुर्याउने नै छ । फेरि उग्र स्वभावका प्रसाईँले कस्तो पार्टी बनाउनेछन् ? उनको पार्टीका धार के हुन्छ ? र कस्ता मान्छेहरु जोडिनेछन् त्यो चासोको विषय छ । तर अहिलेका धेरै दलहरुमा चहारिसकेका प्रसाईँ एकाएक राजावादी बने जस्तै पुनः राजावादी बनेर निस्किए भने पनि अचम्म नमाने हुन्छ । 

  • प्रकाशित मिति : ३ भदौ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया