२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

फोटोग्राफीमा क्रेज बढ्यो, फोटो स्टुडियोको व्यवसाय भने खस्कियो

कुनै समय यस्तो थियो–बजारका फोटो स्टुडियोहरूमा फोटो खिच्न लाइन बस्नुपर्ने, पालो कुर्नु पर्दथ्यो । व्यवसाय पनि उसैगरी चम्किन्थ्यो । खिचेको फोटो धुलाएर लिन हप्ता दिन नै कुर्नुपर्ने अवस्था थियो । तर समय बदलियो । प्रविधिको विकासले स्टुडियोसम्म धाउनेहरु मोवाइलमै अभ्यस्त हुनथाले । स्टूडियोसम्मै पुग्नेहरूको संख्या पातलिएको छ । झकिझकाउन र भरिभराउ हुने फोटो स्टुडियोहरू खुम्चिएका छन् । व्यवसाय साँघुरिएको छ ।


एन्ड्रोइड र आइफोन मोबाइल सेटमा सुविधा युक्त क्यामेराले फोटोप्रेमीहरुलाई भुलाइदिएको छ । स्टुडियोमा गएर फोटो खिच्ने चलन हराउँदै गएको छ । फोटो धुलाएर अर्थात प्रिन्ट गरेर एल्बममा राख्ने चलन हराउँदै गएको छ । तर व्यवसायीहरूको बुझाइमा स्टुडियोमा व्यवसायको तौर तरिका र शैली फेरिएको छ । तर फोटोग्राफी बदलिएको छैन । 



काठमाडौं न्यूरोडमा रहेको फोटो कन्सर्न ६५ बर्षदेखि स्टुडियोकै रुपमा चलिरहेको छ । प्रबन्ध निर्देशक दिनेशराज अर्याल भने स्टुडियो चलाउने वा काम गर्ने तरिकाहरूमा भर पर्ने बताउँछन् । 

अर्यालले फोटोग्राफीले पहिला भन्दा अझै बढी विस्तृत रूपमा परिमार्जित र अझ बढी विस्तार हुँदै गइरहेको पनि बताए । हिजो स्टुडियोमा फोटो खिच्नुपथ्र्यो भने आज घरमै खिच्न सकिने भन्दै फोटोग्राफीले रूप परिवर्तन गर्दै आएको बताए । उनले एन्ड्रोइड फोन अथवा राम्रो रिजोलुसन भएका क्यामेरा भएका फोनहरूको उत्पत्ति भएपछि फोटोग्राफीलाई झनै सहयोग पुगेको बताए । 



फोटो खिच्नुमात्रै फोटोग्राफी नभएको भन्दै फोटोले एउटा सिंगो कथावस्तु बताउने गरेका छन् । उनले फोटोग्राफीको क्षेत्रले आफ्नो हिसाबले विस्तार भएको र फोटोग्राफीकै कारण  मोबाइल, डीएसएलआरहरूको  बढी प्रयोग भएको बताए । 

अहिले धेरैले पासपोर्ट नभएपनि पारिवारिक फोटो बढी खिच्ने गरेका छन् । बजारमा पासपोर्ट साइजको फोटो खिचेर व्यवसाय चलाउँछु भन्नेको संख्या पनि न्यून छ । बागबजारमा रहेको एम यस डिजिटलका सञ्चालक लक्ष्मण खनाल फोटोग्राफी राम्रो व्यवसाय भएपनि पछिल्लो समय खस्किँदै गएको बताउँछन् । 

उनले अहिले फोटोहरू इन्डोर भन्दा पनि आउटडोरमा बढी सुट हुने गरेको बताए । व्यवसाय गर्दा सरकारलाई कर तिर्नुपर्ने तर कुनै सेवा सुविधा नहुने भएकाले खर्च धान्नै कठिन भइरहेको उनको भनाई छ । 

पछिल्लो समय फोटोग्राफीप्रति युवाहरूमा आकर्षण बढे पनि व्यवसायीक रुपमा खुलेका फोटो स्टुडियोहरूको व्यापार भने सन्तोषजनक नभएको स्टुडियो सञ्चालकहरूको भनाइछ । 



  • प्रकाशित मिति : ३ भदौ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया