२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

मीनरत्न बज्राचार्य : नेपाली फोटो पत्रकारिताका ‘आइकोनिक’ अनुहार
‘सीप भए जिन्दगीमा दुई छाक जोड्न गाह्रो हुँदैन’

फोटो पत्रकारिताको संसारमा एक सशक्त नाम हो- मीनरत्न बज्राचार्य । उनले जीवनको हरेक मोडमा संघर्षलाई अँगालेर एउटा साधकको रुपमा क्यामेरालाई अपनाए, अनि समाज, समय र सत्ता तीनवटैलाई फ्रेममा कैद गरे । उनले आफ्ना जीवनका अनेक अनुभवहरू बाँडे, जुन केवल तस्विरकै होइन, दर्शन, राजनीति, संस्कार र संघर्षको कथाले भरिएको छ ।


मीनरत्नको फोटोग्राफी यात्रा २०३६ सालमा सुरु भयो । त्यो समय उनी क्यामेरासँग मात्र होइन, विचारसँग पनि संघर्षरत थिए । काठमाडौं उपत्यकाका साँघुरा गल्ली, आन्दोलनका हुंकार, जनताका अनुहार र देशको बदलिँदो राजनीतिक दृश्यपटल उनका लागि क्यानभासजस्तै बने । 



४० को दशकतिरको कुरा हो । स्वीट्जरल्याण्डका विख्यात भू–गर्भशास्त्री डा. टोनी हेगन नेपाललाई खुबै माया गर्थे । २४ अक्टोबर १९५० मा पहिलोपल्ट नेपाल आएका उनले संसारलाई ‘सगरमाथा नेपालमा छ’ भनेर सुनाएका थिए ।  

१८ अप्रिल २००३ मा हेगन बिते । त्यसको वर्ष दिनपछि हेगनकी छोरी क्याट्रिनले नेपाल आएर सिधै मीनरत्नलाई भेटिन् । ‘मीन, माइ फादर लेफ्ट फर यु सेइङ द्याट– मेन्टेनिङ टोनी हेगन्स लिगेसी, दिस इज फर यु !’ अल्पा नामको क्यामेरा आफूलाई थमाउँदै क्याट्रिनले भनेका कुरा मीनरत्नले बिर्सेका छैनन् ।



टोनी हेगन फोटोग्राफर पनि थिए । उनले त्यसबेला नेपाल र यहाँको जनजीवन दर्शाउने थुप्रै फोटो सोही क्यामेराबाट खिचेका थिए ।  मीनरत्नले टोनी हेगनलाई सन् १९९१ मा पहिलोपल्ट भेटेका रहेछन् । उनीहरूको भेट पनि कम रोचक छैन । अनि एकाएक बढेको दोस्ती झनै लोभलाग्दो ।

यसैगरी अस्ट्रेलियामा आफ्नो जन्मदिनमा मीनले पाएका थिए गिफ्ट एक सानो मिनोल्टा क्यामेरा । त्यो एउटा साधारण उपहारले मीनरत्नलाई फोटोग्राफीप्रति गहिरो लगाव दिलायो । उनले सिड्नीको हभर ब्रिजदेखि अस्ट्रेलियन जीवनशैलीसम्मलाई तस्विरमा उतार्न थाले ।
त्यहाँबाट फर्किएपछि नेपालको मठमन्दिर, जात्रैजात्रा, जनजीवन उनका फ्रेममा समाउन थाले ।  मीनरत्नको बाल्यकाल संर्घषमै बित्यो । बुबा एक शिक्षक—परोपकार स्कुलका हेडमास्टर र समाजसेवी पनि थिए ।

परिवारको आर्थिक अवस्था मजबुत थिएन । बाल्यकालमै प्रेसमा काम गर्नु, टेलरिङ सिक्नु, अनि जाइकाको फेशन डिजाइन तालिममार्फत जीवन अघि बढाउनु उनको बाध्यता मात्रै थिएन, सपना पनि थियो । पढाइसँगै पेशा मिलाएर अघि बढ्दा उनले सिके- ‘सीप भए जिन्दगीमा दुई छाक जोड्न गाह्रो हुँदैन ।’

१९८५ मा नेभी क्याप्टेन लेन पाउन्डटनको निम्तोमा अस्ट्रेलिया पुगेका मीनरत्नले सेन्ट भिन्सेन्ट क्यान्सर रिलिफ संस्थादेखि लिएर लेगेसी नामको वेलफेयर संस्थासम्मको काम नजिकबाट हेरे । अस्ट्रेलियामा उनका साथीको बृद्ध पिताको हेरचाह गर्नु, पार्कमा टहलाउने, अनि इङ्ग्लिस सिक्दै जीवनशैली बुझ्ने अवसर पाए । उनले फर्किएर नेपालमा फोटो पत्रकारितालाई जीवन बनाउने निधो गरे ।



प्रजातन्त्रपछिको नेपालमा फोटोग्राफरहरूको संस्थागत विकास हुँदै गयो । बाल्यकालमा प्रेस, टेलरिङ, घरेलु सीप, जापानी सहयोगमा भएको डिजाइन तालिम—यी सबैले उनलाई बहुआयामिक बनाए । मीनरत्न अहिले पनि सक्रिय छन् । समाज र देशका कथाहरू उनी अझै क्यामेरामार्फत कैद गरिरहेका छन् ।  मीनरत्नको बुझाइमा राम्रो तस्विर खिच्न लेन्सभन्दा सेन्स महत्त्वपूर्ण हुन्छ ।

पहिलो पटक क्यामेरा उनले अस्ट्रेलियामा सन् १९८५ मा छोए । नेपालमा चिनजान भएका अस्ट्रेलियन साथीले घुमाउन अस्ट्रेलिया लैजाँदा त्यहाँका दृश्य कैद गर्न उनले क्यामेरा चलाउन पाएका थिए । खासै क्यामेराको ज्ञान नभएका वज्राचार्यलाई उनै साथीले घुम्न जाँदा फोटो कसरी खिच्ने सिकाएका थिए । 

२०४२ सालमा नेपाल फर्किएका बज्राचार्य तिनै क्यामेरा र त्यसबाट लिइएको अस्ट्रेलियाका विभिन्न स्थानका दृश्यलाई साथीमाझ देखाउँथे । सानैमा आमाबुबा गुमाएका बज्राचार्य हातमुख जोर्नकै लागि नजिकै रहेको एउटा टेलरमा सिलाइ कटाइको काम गर्थे । बिहान क्याम्पस, दिउँसो टेलर र टेलरबाट हप्ताको पैसा आउनेबित्तिकै त्यही क्यामेराका साथमा भेटिन्थे कहिले चोभारमा त कहिले स्वयम्भूतिर । 

जानी–नजानी वनपाखा चराचुरुङ्गीको फोटो खिच्दाखिच्दै कहिले नेपालकै आइकोनिक फोटोग्राफर बने उनलाई पत्तै भएन । क्यामेरा हातमा र चलाउने ज्ञान दुवै भएपछि एक मित्रले फोटो खिच्न सक्छौ भन्ने प्रश्नसहितको आग्रहले आफूलाई नेपालकै अब्बल फोटोग्राफरको रूपमा उभ्याएको बज्राचार्य बताउँछन् । 

सन् १९८७ बाट फोटो पत्रकारिता सुरु गरेका उनले त्यसपछि त्यसताकाको लोकप्रिय पत्रिका ‘विमर्श’मा व्यावसायिक फोटो पत्रकारको रूपमा काम सुरु गरे । जहाँबाट उनले ०४४ सालको आँधीबेहरीका कारण रंगशालामा थुप्रिएका लास, २०४५/०४६ को बृहत् जनआन्दोलन, २०६२/०६३ को आन्दोलनलगायतका घटनाको तस्विर उतारे ।

वज्राचार्यले अनुभवका आधारमा नयाँ पुस्तालाई यस्ता सल्लाह र सुझाव दिइरहनु आवश्यक रहेको बताएका छन् । उनका अनुसार, योजनाबद्ध कार्यशैली र समयपालनाले मात्र फोटो पत्रकारिताको स्तर उकास्न सकिन्छ ।

मीनरत्न बज्राचार्य फोटो पत्रकार मात्र होइनन्, उनी जीवनको सौन्दर्य, संघर्ष, सन्देश सबैलाई एउटै फ्रेममा उतार्न सक्ने दृष्टिवान् व्यक्ति हुन् । आज पनि उनले हरेक जात्रा, मठमन्दिर, जनआन्दोलन, दैनिकी र परिवर्तनलाई समेटिरहेका छन् क्यामेराको आँखा भएर । 

  • प्रकाशित मिति : ३ भदौ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया